STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

म काठमाडौँ महानगरवासीको मेयर हुँ, दल हेरेर जनप्रतिनिधिलाई उपेक्षा गर्दिनः मेयर शाक्य

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आषाढ ८, मंगलबार

काठमाडौँ महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८/२०७९को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । असार ३ गते काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । तर, उपमेयरसहित काँग्रेस निकटका जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले छलफल दुई दिनका लागि स्थगन गर्नुभएको थियो । आइतबारको छलफलमा उपमेयरसहितका काँग्रेस निकट वडाध्यक्षले नीति–तथा कार्यक्रममा समावेश गर्नुपर्ने केही बुँदा मेयर शाक्यलाई बुझाएका थिए । प्रमुख शाक्यले उहाँहरुको सुझाव ग्रहण गर्दै बैठक सुचारु गर्नुभएको थियो ।

मेयर शाक्यले सुझाव ग्रहण गर्दै उपमेयरसहित सबै वडाध्यक्षलाई पार्टीको प्रतिनिधि भन्दा पनि जनप्रतिनिधिका हैसियतमा काम गर्न सुझाव दिनुभयो ।   

मेयर शाक्यले ,"कुनै दलको टिकट लिएर हामी निर्वाचनमा उम्मेदवार बन्यौँ होला । तर, निर्वाचन जितेपछि हामी जनप्रतिनिधि हौँ । निर्वाचित भएपछि म काठमाडौँ महानगरपालिकाको मेयर हुँ । उपमेयर, वडाध्यक्ष र सदस्यहरु पनि कुनै दलको होइन तपाईँहरु जनप्रतिनिधि हो । मैले मेयर निर्वाचित भएर आएपछि दल हेरेर उपमेयर, वडाध्यक्ष र सदस्यहरुलाई उपेक्षा गरिन, गर्दिन । त्यसैले तपाईँहरु पनि दलको भन्दा जनताको हितलाई माथि राखेर काम गर्नुहोला म पनि त्यहि गर्छु र गरिरहेको छु ।’  भनि भन्नु भयो ।

मेयर शाक्यले आन्तरिक समस्यालाई छलफलका माध्यमबाट हल गर्न सकिने भन्दै अनावश्यक रुपमा मिडियाबाजी नगर्न पनि सुझाव दिनुभयो ।

मेयर शाक्यले नगरसभामा पेस भएको नीति तथा कार्यक्रमलाई अझ परिपक्व बनाउन उहाँहरुबाट आएका सकारात्मक सुझावले गहकिलो बनाउने भन्दै नीति–तथा कार्यक्रममा राजनीतिक लेप दिनु नहुने सझुाव दिनुभयो ।

मेयर शाक्यले नीति तथा कार्यक्रममा १ सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ स्थापना गर्ने, विद्युतीय सवारी साधन करमा शतप्रतिशत छुट दिने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट सहुलियत दिने , महानगरवासीलाई ‘नागरिक स्वास्थ्य बिमा कार्यक्रम’, ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ सहरी स्वाथ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निःशुल्क सेवा जस्ता महत्वपूर्ण कार्यक्रम ल्याएको जानकारी पनि दिनुभयो ।

Categorized in उपत्यका