STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

क्रोएसियासँगको हारपछि क्यानडा बाहिरियो

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर १२, सोमबार

काठमाडौं - एन्ड्रेज क्रमारिचको दुई गोलप्रेरित क्रोएसियाले कतारमा जारी विश्वकपको समूह ‘एफ’मा आइतबार क्यानडालाई ४–१ गोलको नतिजामा पराजित गरेको छ।

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको दोस्रो मिनेटमै क्यानडाले अल्फोन्सो डेभिसले गरेको गोलसँगै अग्रता लिएको थियो। यद्यपि, त्यो अग्रता जोगाउन नसक्दा पराजित हुनुपर्यो।

पहिलो हाफको खेलसकिन ८ मिनेट बाँकी रहँदा क्रमारिचले गरेको गोलसँगै साविक उपविजेता क्रोएसियाले बराबरी गरेको थियो। मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा मार्को लिभायाले गरेको गोलसँगै क्रोएसियाले अग्रता २–१ मा पुर्याएको थियो।

दोस्रो हाफमा थप आक्रामक शैलीमा उत्रिएको क्रोएसियाका लागि ७०औं मिनेटमा क्रमारिचले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ३–१ मा लम्ब्याएका थिए। इन्जुरी समयमा सब्स्टिच्युट खेलाडी लोभ्रो मायरले गोल गर्दै ४–१ को जित सुनिश्चित गरे।

पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरीमा रोकिएको क्रोएसिया नकआउट चरण प्रवेश नजिक पुगेको छ। पहिलो खेलमा बेल्जियमसँग पराजित भएको क्यानडा भने समूह चरणबाटै बाहिरिएको छ।

Categorized in खेलकुद