STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

धोका र अस्थिरताको राजनीति : एमाले

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण १२, शुक्रबार

 

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान गठबन्धनलाई भत्काएर नयाँ गठबन्धन खडा गरेका छन् । वर्तमान गठबन्धनभित्र एमालेसहित राप्रपा, रास्वपालगायत दल आबद्ध थिए । तर, शुक्रबार साँझ बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई अघि सार्ने र जिताउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्ड आफैँले भनेका छन्–‘आजैदेखि नयाँ राजनीतिक यात्रा सुरुवात भयो ।’

बैठकमा सुरुवातमा पूराना गठबन्धन मात्र थिए । तर, पछि जनमत पार्टी, लोसपा र नागरिक उन्मूक्ति पार्टी पनि थपिए ।

प्रधानमन्त्री प्रचण्डले आठ दलको बैठकअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि राष्ट्रपति उम्मेदवारबारे २ घण्टा छलफल गरेका थिए । तर, दुईबीचको छलफलले ठोस निर्णय लिन सकेन । दुईबीचमा सहमति नभएसँगै ओली बालुवाटारबाट उठेर हिँडेका थिए । त्यसलगत्तै कांग्रेसहितका अन्य दल बालुवाटार पुगेका थिए ।

बालुवाटार छलफलपश्चात राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई अघि सार्ने भएपछि नेकपा एमालेले त्यसबारे मुख खोलेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बालुवाटारको निर्णयले धोकाको राजनीति र मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम भएको बताएका छन् ।

उनका अनुसार प्रधानमन्त्री प्रचण्डले अहिलको गठबन्धनलाई धोका दिएका छन् । साथै, प्रधानमन्त्री प्रचण्डले राजनीतिलाई धोकाधडी, दाउपेच र सौदावाजीको विषय बनाएको पनि उनको आरोप छ ।

बालुवाटारको नयाँ निर्णयसँगै एमाले पनि नयाँ ढंगले सोच्नुपर्ने परिस्थिति आएको उनको भनाइ छ । उनले अहिले देखिएको राजनीतिक फेरबदलको असर नेपाली राजनीतिमा दूरगामी पर्ने पनि बताएका छन् ।

Categorized in राजनीति