अन्वेषक प्रकाश सायमीको नयाँ कृति ‘स्वरसम्राट नारायणगोपाल’ लोकार्पण
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ कार्तिक १३, मंगलबार
नेपालको संगीत अाकाशमा स्वर सम्राटको रुपमा विख्यात प्रसिद्ध गायक संगीतकार नारायणगोपाल गुरुवाचार्यको जीवनीमा आधारित ‘स्वरसम्राट नारायणगोपाल’ पुस्तकको मंगलबार एक समारोहमा लोकार्पण सम्पन्न भएको छ। अनन्त यात्रा , वर्षादि दिनहरु , यी सलाइका काँटी , चलचित्र कला र प्रविधि, काठमाडौं सेल्फि लगायत विविध विधाका दर्जनौं कृति प्रकाशित गरिसकेका लेखक प्रकाश सायमीको यो नयाँ कृति जीवनी पुस्तक हो ।
कृति विमोचन कार्यक्रममा बोल्दै लेखक सायमीले नारायणगोपालको जीवन र व्यक्तित्वलाई संक्षिप्तमा प्रस्तुत गर्न यो पुस्तक तयार गरेको बताए।
अभिनेता सरोज खनालले नारायणगोपालको संगीतले उनलाई अमर बनाएको र उनी हरेक नेपालीको हृदयमा जीवित रहेको बताए। वरिष्ठ गीतकार नगेन्द्र थापाले यो पुस्तक भबिष्यका अनुसन्धानकर्ताहरूका लागि कोशेढुंगा साबित हुनेमा विश्वास व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ शिक्षाविद् केदारभक्त माथेमाले जीवनी लेख्नु भनेको चुनौतीपूर्ण काम भएको र लेखक सायमीको प्रयासको प्रशंसा गर्दै पुस्तकलाई पठनीय र रोचक रहेको बताए।
कार्यक्रममा वरिष्ठ संगीतज्ञ कर्म योन्जन, सि के रसाइली, नीर शाह, मह जोडी, मन्जु थापा, बसुन्धरा भुषाल, लेखक प्रकाश सायमीले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका थिए ।
Categorized in साहित्य-कला

