STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल संवतले राष्ट्रिय स्वाभीमान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छ : प्रचण्ड

Janjati Khabar – Janjati Khabar | २०८१ कार्तिक १६, शुक्रबार

भक्तपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले नेपालको राष्ट्रिय भावना, स्वाभीमान, स्वाधीनता, आत्मसम्मान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने भएकाले यसलाई राष्ट्रिय मान्यता प्रदान गरिएको बताएका छन् ।

नेकपा माओवादी केन्द्र मध्यपुर थिमी नगर समिति भक्तपुरले नयाँ वर्ष नेपाल संवत् ११४५ को अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल संवत् नेवार समुदायको भावनासँग जोडिएको भए पनि यो नेपाल राष्ट्रकै मौलिक संस्कृतिको महत्वपूर्ण हिस्सा भएको बताए । 

‘नेपाल संवतले राष्ट्रिय संवतको मान्यता प्राप्त गर्नुपर्छ भनेर खासगरी काठमाडौं, ललितपुर र भक्तपुरका नेवार समुदायले धेरै वर्षदेखि आन्दोलन गर्दै आउनुभएको थियो । विभिन्न समयका सरकारहरुले त्यो आन्दोलनको एजेण्डा पूरा गर्नुको साटो दबाउन खोजेको गुनासो यो समुदायका अगुवाहरुबाट सुनिरहेको थिएँ’– अध्यक्ष प्रचण्डले भने– ‘२०६५ मा पहिलोपटक प्रधानमन्त्री भएको बेलामा मैले नेपाल संवतलाई राष्ट्रिय मान्यता प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्‌बाट गराएको थिएँ, त्यसका लागि मलाई अहिले पनि गर्व लागिरहेको छ ।’

नेपाल संवतले राष्ट्रिय मान्यता पाएको लामो समयसम्म पनि यसको कार्यान्वयनमा अलमल भएको देखेर गत वर्ष आफू तेस्रोपटक प्रधानमन्त्री भएको बेला विक्रम संवत् प्रयोग हुने सबै सरकारी कागजातमा नेपाल संवत् प्रयोग गर्ने निर्णय मन्त्रिपरिषदबाटै गराएको उनले स्मरण गराए । 

शंखधर साख्वाःले गरीब जनताको ऋण मोचन गर्ने काम गरेर पवित्र कार्य गरेपछि उनकै सम्मानमा नेपाल संवत् सुरु गरिएको प्रसंग उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने– ‘२०६५ को एउटै मन्त्रिपरिषद बैठकबाट हामीले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिने निर्णय मात्रै गरेनौं, शंखधर साख्वाले जस्तै हामीले पनि करिब किसानहरुको निश्चित रकम ऋण मिनाहको निर्णय पनि गर्यौं ।’

आफू पहिलोपटक प्रधानमन्त्री भएको बेला गरिब किसानको ऋण मिनाह, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्गलगायतका ठूला पूर्वाधारको सुरुवात गरेको स्मरण गर्दै दोस्रोपटक प्रधानमन्त्री हुँदा लोडसेडिङ अन्त्य गरेर उज्यालो नेपालको निर्माणहुँदै तेस्रोपटक प्रधानमन्त्री भएको बेलामा नेपाली इतिहासमै पहिलोपटक सरकारको अगुवाईमा भ्रष्टाचारविरुद्धको अभियान सुरु गरिएको बताए । 

पछिल्लो समय आफ्नो नेतृत्वको सरकारले धेरै काम गर्न खोजेको देखेर सरकार ढालिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकारमा हुँदा सुरु गरिएको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान अब पार्टीको मुख्य एजेण्डा हुने र २०८४ माओवादीको हुने बताए । सरकारबाट निस्केपछि आफूले एकपटक प्रदेश तहमा पुगेर जनताको अवस्था बुझ्ने प्रयास गरेको उल्लेख गर्दै उनले देशभरि जनताले माओवादी र प्रचण्डलाई मायाँ गर्न थालेको बताए । 

Categorized in उपत्यका