रहेनन् पत्रकार तथा साहित्यकार सुरेश किरण
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ फाल्गुण २७, बुधबार
काठमाडौं– पत्रकार, साहित्यकार तथा भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।
सोमवार साँझ काठमाडौंको खुसिबुस्थित नेपाः ब्याङ्क्वेटमा आयोजित आफ्नी भाञ्जीको वैवाहिक समारोहमा सहभागी भइरहेका बेला अचानक हृदयघात भएपछि उनलाई तत्काल उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोलोजी केन्द्रमा लगिएको थियो । तर अस्पताल पुग्दासम्म चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
परिवारका अनुसार वैवाहिक समारोहमा आफन्तहरूसँग हाँस्दै–बोल्दै बसेका मानन्धरलाई भोजकै क्रममा अचानक असहज महसुस भएको थियो । उनकी पत्नी सजनी मानन्धरले बताएअनुसार घटनापछि तुरुन्तै अस्पताल पुर्याइए पनि चिकित्सकले बचाउन सकेनन् । भाञ्जीको विवाहको कारण परिवारले केही समयसम्म खबर सार्वजनिक नगरेको तथा मंगलवार साँझमात्रै निधनको जानकारी सार्वजनिक गरिएको थियो ।
पत्रकारितामा चार दशकको सक्रियता
विसं २०२३ कात्तिक २३ गते जन्मिएका मानन्धरले आफ्नो जीवनको अधिकांश समय पत्रकारिता तथा साहित्य क्षेत्रमा समर्पित गरेका थिए । विशेषगरी नेपालभाषा पत्रकारितामा उनको योगदान उल्लेखनीय मानिन्छ । करिब चार दशकसम्म सक्रिय पत्रकारितामा संलग्न रहँदै उहाँ विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रूपमा समेत परिचित थिए । उनका लेखहरू विभिन्न पत्रपत्रिकामा नियमित रूपमा प्रकाशित हुँदै आएका थिए । पछिल्लो डेढ वर्षदेखि उनी भाषा आयोगका सदस्यका रूपमा कार्यरत थिए । साथै रेडियो नेपाल, नेपाल टेलिभिजन र राष्ट्रिय समाचार समितिमा नेपालभाषा समाचारसम्बन्धी विषयमा विज्ञका रूपमा सहजीकरण गर्दै आएका थिए ।
जनआन्दोलनका दिनमा चर्चित अन्तरवार्ता
मानन्धरले पत्रकारिता यात्रा विसं २०४५ सालमा मल्ल के सुन्दर सम्पादक रहेको इनाप साप्ताहिक तथा विश्वभूमि दैनिकबाट प्रारम्भ गरेका थिए । विसं २०४६ सालको जनआन्दोलनको उत्कर्षका बेला काठमाडौं कडा सुरक्षा घेरामा थियो । त्यही समय वीर अस्पतालमा उपचाररत जनआन्दोलनका नेता गणेशमान सिंहसँग चिकित्सकको भेषमा पुगेर गरिएको अन्तरवार्ताले उनलाई व्यापक रूपमा चिनाएको थियो ।
सम्पादक र भाषा अभियन्ता
नेपालभाषा पत्रकारितालाई निरन्तरता दिने उद्देश्यका साथ मानन्धरले विभिन्न दैनिक पत्रिकामा सम्पादकीय जिम्मेवारी सम्हालेका थिए । उनी न्हू विश्वभूमि (२०४९–२०५१), सन्ध्या टाइम्स (२०५२–२०७२) तथा नेपालभाषा टाइम्स दैनिक (२०७३–२०८१) का सम्पादक रहेका थिए ।
साहित्य र सृजनात्मक योगदान
पत्रकारितासँगै साहित्य क्षेत्रमा पनि मानन्धरको उल्लेखनीय योगदान छ । उनको आधुनिक कविता सङ्ग्रह ‘थौं घन्टाघरं जिके ई न्यनाच्वन’( घण्टा घरले आज मसंग समय साेधिरहेकाे छ ) प्रकाशित छ । त्यस्तै उनले संरक्षणविद् डा. तीर्थमान मास्केको जीवनी ‘टाइगर वार्डेन’ तथा पद्मरत्न तुलाधरको जीवनी लेखेका थिए । साथै उहाँले रेडियो नाटक श्रृंखला ‘मह अदालत’ तथा टेलिफिल्म श्रृंखला ‘मह चौतारी’ पनि लेखेका थिए । काठमाडौं महानगरपालिकाबाट प्रकाशित इन्द्रजात्रा ९येँयाः० सम्बन्धी कृतिमा पनि उनी सह–लेखकका रूपमा सहभागी थिए ।
पुरस्कार र सम्मान
पत्रकारिता तथा साहित्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै मानन्धरलाई विभिन्न पुरस्कार प्रदान गरिएको थियो । उनले पारिजात सिर्जनशील पुरस्कार ९२०५६०, राष्ट्रिय प्रतिभा पुरस्कार (२०५७), जरिमैंया पुरस्कार (२०६८), गोविन्द वियोगी पत्रकारिता पुरस्कार (२०७०) तथा लहना धर्म–मोति नेपालभाषा पत्रकारिता सिरपाः–११३५ प्राप्त गरेका थिए ।
पत्रकारिता, भाषा संरक्षण र साहित्यिक सिर्जनामा समर्पित जीवन बिताएका सुरेशकिरण मानन्धरको निधनले नेपाली पत्रकारिता क्षेत्र तथा भाषा–संस्कृति अभियानमा ठूलो क्षति पुगेको टिप्पणी गरिएको छ ।
Categorized in व्यक्तित्व

