नेपाल भारत सीमा स्तम्भमै ‘नवल खड्का’ पुस्तक विमोचन
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ २१, आइतबार
नेपालको उत्तर–पश्चिमी सीमास्थित दार्चुलाको तिङ्कर भञ्ज्याङ (५, २५८ मिटर) उचाइमा रहेको १ नम्बर जङ्गे सीमा स्तम्भमै राष्ट्रवादी चलचित्रका सर्जक, नायक, निर्माता तथा लेखक नवल खड्काको ‘नवल खड्का’ पुस्तक विमोचन गरिएको छ।
राष्ट्रिय जेन्जी नागरिक अभियानका संयोजक सुनिल सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रम अभियानका सचिव प्रकाश बमले सञ्चालन गरेका थिए। कार्यक्रममा सह–संयोजक अजय सोडारी र कान्तिपुरका स्थानीय संवाददाता मनोज बडुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
शुभकामना मन्तव्यका क्रममा अजय सोडारीले देश, राष्ट्रियता र स्वाभिमानको पक्षमा चलचित्र निर्माण गर्ने तथा पुस्तक लेख्ने व्यक्तिलाई “भारत विरोधी” जस्तो संकुचित आरोप लगाइनु दुःखद भएको बताए।
पत्रकार मनोज बडुले ५, २५८ मिटर उचाइमा रहेको तिङ्कर भञ्ज्याङको १ नम्बर सीमा स्तम्भमै पुगेर पुस्तक विमोचन गर्नु ऐतिहासिक र साहसिक कार्य भएको उल्लेख गर्दै नेपाली चलचित्र क्षेत्रका कुनै पनि नायक वा निर्माताले यसअघि यस्तो अभियान सञ्चालन गरेको जानकारी आफूलाई नभएको बताए। उनले नवल खड्काको राष्ट्रप्रेम, साहस र समर्पणको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गरे।
अध्यक्ष सुनिल सिंहले स्वदेशी चलचित्रको पक्षमा उभिनु कुनै राष्ट्रको विरोध नभई आफ्नै देशप्रतिको सम्मान, जिम्मेवारी र आत्मगौरव भएको बताए। उनले देशभक्त कलाकार नवल खड्काको योगदानलाई राज्यले समयमै सम्मान गर्नुपर्ने धारणा राख्दै ढिलाइ गरेपछि पछुताउनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए। उनले नवल खड्कालाई “देशप्रेमको सशक्त आवाज” भन्दै उच्च सम्मान व्यक्त गरे।
कार्यक्रममा अभियानका सचिव प्रकाश बमले राष्ट्रभक्तिपूर्ण चलचित्र निर्माणका क्रममा विभिन्न बाधा, अवरोध र प्रतिबन्धको सामना गरेका लेखक नवल खड्काले आफ्ना अनुभवहरू समेटेर लेखेको ‘नवल खड्का’ पुस्तकले हरेक नेपालीलाई राष्ट्रका पक्षमा आवाज उठाउन, देशप्रती कर्तव्यबोध र दायित्व निर्वाह गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे। उनले पुस्तक सबै नेपालीले कम्तीमा एकपटक अध्ययन गर्नुपर्ने उल्लेख गर्दै नवल खड्काजस्ता देशभक्त नायक, निर्माता, निर्देशक तथा लेखकलाई सम्पूर्ण नेपालीले साथ दिनुपर्ने धारणा राखे।
कार्यक्रममा नवल खड्काले आफ्नो ‘नवल खड्का’ पुस्तक तथा ‘भिमदत्त’ र ‘काँडेतार’ चलचित्रबाट प्राप्त हुने मुनाफाको ५० प्रतिशत हिस्सा राष्ट्रको सीमा सुरक्षा र राष्ट्रिय स्वाभिमानका लागि समर्पण गर्ने घोषणा गरे।
उनले सीमामा सीसी क्यामेरा जडान, नेपाली सेनालाई सीमा सुरक्षाको पूर्ण जिम्मेवारी, १६ वर्ष उमेर पुगेका प्रत्येक नेपालीलाई आधारभूत सैनिक तालिम प्रदान गर्ने व्यवस्था, तथा ‘शान्ति क्षेत्र नेपाल’ घोषणालाई पुनर्जीवित गर्नुपर्ने माग गरे।
खड्काले भने, “हामी ० नम्बर पिलर खोज्न गयौँ, तर भेटिएन। त्यसैले सरकारसँग मेरो खुला चुनौती छ—० नम्बर पिलर कहाँ छ, देखाइयोस्। महाकाली, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पुगेर स्थानीयसँग एक रात बसेर वास्तविक अवस्था बुझ्न म सरकारलाई चुनौती दिन्छु।”
यसै क्रममा नवल खड्काले तिङ्कर भञ्ज्याङमा भ्यूटावर निर्माण गरी त्यहाँबाट कैलाश–मानसरोवरको दर्शन गर्न सकिने वातावरण तयार गर्न सरकारसँग आग्रह गरे। यस्तो पूर्वाधार निर्माण गर्न सके धार्मिक तथा पर्यटकीय पर्यटनको ठूलो सम्भावना खुल्ने, स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुने र नेपालले वार्षिक रूपमा अर्बौं रुपैयाँ आम्दानी गर्न सक्ने उनको भनाइ थियो। उनले यस सम्भावनालाई मूर्त रूप दिन सरकारलाई आवश्यक पूर्वाधार निर्माण तथा दीर्घकालीन योजना अघि बढाउन आग्रह गरे।
Categorized in साहित्य-कला

