चेतन कार्की स्मृति पुरस्कारबाट संचारकर्मी कृष्ण भट्टराई र नायक आर्यन सिग्देल लगायतलाई सम्मान
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ २४, बुधबार
विशिष्ट चलचित्रकर्मि चेतन कार्कीकाे नाममा स्थापना गरिएको चेतन कार्की स्मृति पुरस्कार यसपटक संचारकर्मी कृष्ण भट्टराईलाई अर्पण गर्ने निर्णय गरेको छ । परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले साे निर्णय गरेको हाे भने यसैगरी कलाकार शारदा गिरी र निर्देशक, कलाकार विश्वदिप घिमिरेलाई २०८२ सालको दुर्गादेवी- पुण्य निरौला स्मृति पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ । सचारकर्मी श्री कृष्ण भट्टराईलाई चलचित्र क्षेत्रको विकास विस्तार र पेशाकर्मीको उत्थानका लागि विगत अढाई दशक भन्दा बढी समय देखि पत्रकारीतामा संलग्न रहि योगदान पुऱ्याए वापत चेतन कार्की स्मृति पुरस्कार प्रदान गरिएको छ । यो पुरस्कार २०७९ सालमा स्थापना गरिएको हो ।
विगत चार दशक देखि नेपाली चलचित्र टेलि चलचित्रमा अभिनय गर्दै आउनु भएकी कलाकार श्री शारदा गिरी र विगत अढाई दशक भन्दा बढी समय देखि नेपाली रंगमञ्च चलचित्र र टेलिचलचित्रमा निर्देशन तथा अभिनय गर्दै आउनु भएका श्री विश्वदिप घिमिरेलाई दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार दिने निर्णय भएको हो । यो पुरस्कार २०७३ सालमा स्थापना गरिएको हो ।दुवै पुरस्कारको राशी जनही रु.१५, ०००/- (अक्षरुपी पन्ध्र हजार) रुपैया रहेको छ । बैठकमा पुरस्कार छनोट समितिका सदस्य शान्ति प्रिय, सुन्दर श्रेष्ठ र परिवर्तनकर्मी माधव खरेलको उपस्थिती रहेको थियो ।
परिवर्तन नेपालले आफ्नो स्थापनाकाल वि.सं. २०५३ साल देखि विभिन्न स्रष्टा, सर्जक र परिवर्तन नेपालसँग आवद्ध चलचित्रकर्मीलाई परिवर्तन विशेष सम्मान प्रदान गर्दै आएको छ । सोही अनुरुप आफ्नो कला यात्राको प्रारम्भिक दिनमा परिवर्तन नेपालसंग आवद्ध रही आउनु भएका लोकप्रिय अभिनेता आर्यन सिग्देल, अभिनेता आशान्त शर्मा, कलाकार सरोज ओली र ललितकला कलाकार देवेन्द्र थुम्केलीलाई परिवर्तनकर्मी विशेष सम्मान अर्पण गर्ने निर्णय पनि सोही बैठकले निर्णय गरेको छ । यसैगरी चलचित्रमा छाँयाकारको रुपमा काम गर्दै प्राविधिकहरुको पेशागत हकहितका लागि प्रतिवद्ध भई काम गर्दै आउनु भएका छांयाकार वीरेन्द्र प्रसाद भट्ट र गीत संगीतको क्षेत्रमा पत्रकारीता मार्फत र गीत संगीत उत्थानका लागि अवार्डको आयोजना गरी काम गर्दै आउनु भएकी सविता पोखरेललाई परिवर्तन विशेष सम्मान गर्ने निर्णय गरेको छ। यी पुरस्कार सम्मान श्रावणको तेस्रो साता विशेष कार्यक्रमको आयोजना गरी अर्पण गरिने छ ।
Categorized in साहित्य-कला

