STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निर्देशक नीर शाहकाे 'कमला मिस’को अफिसियल पोस्टर सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ २७, शनिबार

वासुदेव, राजमति, मसान, बसन्ती लगायतका सार्थक चलचित्रहरुका निर्देशक नीर शाहकाे नयाँ  चलचित्र ‘कमला मिस’को आगामी साउन २२ गते (अगस्ट ७) देखि देशभर प्रदर्शनमा आउने भएको छ भने साे चलचित्रको  अफिसियल पोस्टर हालै   सार्वजनिक गरिएको छ।

सार्वजनिक पोस्टरमा एक महिलाले सानो बालकलाई ममतापूर्वक अँगालोमा च्यापेर बसेको दृश्य प्रस्तुत गरिएको छ। पोस्टरले आमा–बालकको सम्बन्ध, माया, त्याग र भावनात्मक संघर्षमा आधारित कथावस्तुको संकेत गर्छ।मनोवैज्ञानिक कथावस्तुमा आधारित ‘कमला मिस’को पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ चलचित्रप्रति उत्सुकता थपिएको छ।

साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित चलचित्रमा निर्देशक नीर शाहसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ।

करिब एक दशकपछि निर्देशनमा फर्किएका वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले ‘कमला मिस’मार्फत सामाजिक यथार्थ र पारिवारिक भावनालाई केन्द्रमा राख्दै फरक स्वादको कथा प्रस्तुत गर्ने प्रयास गरेका छन्। 

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको चलचित्रका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेश बाबु श्रेष्ठ र राम भट्टराई रहेका छन्। पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर हुन्।

चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।

प्राविधिक पक्षमा शिवराम श्रेष्ठको छायांकन, मिलन विक्रम शाहको सम्पादन, युग भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रेनिश फागोको रङ संयोजन, मुकेश शाहको ध्वनि मिश्रण, भोला सुवेदीको निर्माण व्यवस्थापन तथा सगर बोहराको मुख्य सहायक निर्देशन रहेको छ।

‘कमला मिस’लाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्नेछन्।

Categorized in सिनेमा