दीपाश्री निरौलाको मस्तिष्कमा ट्युमर (ब्रेन ट्युमर)
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ २८, आइतबार
लोकप्रिय अभिनेत्री, निर्देशक तथा निर्मात्री दीपाश्री निरौलाको मस्तिष्कमा ट्युमर (ब्रेन ट्युमर) देखिएपछि सफल शल्यक्रिया गरिएको जानकारी प्राप्त भएको छ । हाल उनी माइतीघर, काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत छिन् ।
पारिवारिक स्रोतका अनुसार विशेषज्ञ चिकित्सकको टोलीले हालै उनको सफल शल्यक्रिया गरेको हो । शल्यक्रियापछि दीपाश्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको बताइएको छ ।
स्रोतका अनुसार करिब डेढ साताअघि ढाड दुख्ने समस्या भएपछि उनी स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेकी थिइन् । प्रारम्भिक परीक्षणपछि चिकित्सकले थप विस्तृत जाँच गर्न सुझाव दिएका थिए । सोही क्रममा गरिएको परीक्षणबाट उनको मस्तिष्कमा ट्युमर रहेको पत्ता लागेको थियो ।
अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको ट्युमरको शल्यक्रिया गरेको हो । अस्पताल स्रोतका अनुसार शल्यक्रिया सफल भएको र हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनको मस्तिष्कबाट निकालिएको ट्युमर कस्तो प्रकृतिको हो (क्यान्सरयुक्त हो वा होइन) भन्ने पत्ता लगाउन परीक्षणका लागि प्रयोगशाला (बायोप्सी) मा पठाइएको छ । बायोप्सीको रिपोर्ट आउन भने बाँकी रहेको चिकित्सकहरूले जनाएका छन् ।
ब्रेन ट्युमर पुष्टि भएपछि चिकित्सकले तत्काल शल्यक्रिया गर्ने निर्णय गरेका थिए । शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएपछि उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
दीपाश्रीका सहकर्मि वरिष्ठ कलाकर्मि दीपकराज गिरी ले भगवान पशुपतिनाथको कृपा र चिकित्सकहरूको मेहनतले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको कुरा सामाजिक सन्जालमा उल्लेख गरेका छन् । उनका अनुसार दीपाश्री अहिले आईसीयूबाट जनरल वार्डमा सारिएकी छिन् र स्वास्थ्य लाभ गरिरहेकी छिन् ।
उनले उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मी, शुभेच्छुक तथा दर्शकप्रति आभार व्यक्त गर्दै दीपाश्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरिदिन सबैसँग आग्रह गरेका छन् ।
दीपकराजले आफ्नो सन्देशको अन्त्यमा ‘जय पशुपतिनाथ११’ लेख्दै सबैको साथ र प्रार्थनाप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
यस घटनापछि नेपाली फिल्म उद्योगका कलाकार, शुभेच्छुक तथा दर्शकहरूले सामाजिक सञ्जालमार्फत दीपाश्री निरौलाको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
दीपाश्रीको स्वास्थ्य अवस्थाबारे जानकारी सार्वजनिक भएपछि चलचित्रकर्मी, शुभचिन्तक र प्रशंसकहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
Categorized in व्यक्तित्व

