STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अर्गानिक कृषि उत्पादनसँगै घरबास सञ्चालन

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ५, आइतबार

बजारबाट खरीद गरिएका खाद्यान्न एवं तरकारी अर्गानिक भन्दै अधिकांश स्थानमा पर्यटकलाई खुवाउने गरिएको गुनासो बढिरहेका वेलामा यहाँका एक उद्यमी भने कृषि उत्पादनलाई घरबास होमस्टे सँग जोड्न सफल हुनुभएको छ । 
देख्दा प्राचीन ढाँचा तर आधुनिक सेवा सुविधासहितका घरबास चलाउन थाल्नुभएका पर्यटन व्यवसायी गोमा ढकालले घरबास सँगसँगै अर्गानिक कृषि उत्पादनलाई समेत अघि बढाएको छ । पोखरा महानगरपालिका–२४ चिप्लेटीमा बाँझो भिरोलो १५ रोपनी जग्गा खरिद गरेर उहाँले अहिले इन्द्रेणी अर्गानिक तरकारी फर्म र घरबास कार्यक्रम सञ्चालन गर्नुभएको हो ।
उहाँका अनुसार कृषि फर्म र घरबास कार्यक्रमसँगै खरीद गरेको अर्को १२ रोपनी जग्गामध्ये नौ रोपनीमा विभिन्न जातका फलफूल, तीन रोपनीमा घाँस र अलैँची तथा ११ रोपनीमा धान र मकैखेती गर्दै आइरहेको छ ।
घरबासमा आउने पर्यटकलाई आफ्नै खेतबारीमा उत्पादित खाद्यान्न, तरकारी, खोरका खसी, बोका र लोकल कुखुराको मासु तथा भैँसीको शुद्ध दूधको स्वाद पाहुनालाई चखाउने लक्ष्य राखिएको उहाँले राससलाई बताउनुभयो ।
आधुनिक हरितगृहभिक्र काँत्रो, धनियाँ, क्याप्सिकम, अकबरे खुर्सानी, रायोसाग लगायतका तरकारी र सामान्य टनेलमा गोलभेडा उत्पादन गर्दै घरबासमा बस्न आउने पाहुनाले अर्गानिक उत्पादनको स्वाद लिने गरेका छन् ।
नेपाल सरकार कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना एकाइ तरकारी सुपर जोनअन्तर्गत हाइटेक निर्माणका लागि रु १३ लाख ७५ हजार सहयोग प्राप्त गर्नुभएको छ । यसबाहेक अहिलेसम्म राज्यबाट अरु कुनै सुविधा नपाएको उहाँले जानकारी दिनुभयो ।
 
इन्द्रेणी अर्गानिक तरकारी फर्ममा निर्माण गरिएको तापअनुकूलित हाइटेक हरितगृह भिक्र यतिखेर कोरियन जातको हरियो काँत्रो लोभ लाग्ने गरी लटरम्म फलेको छ । नरम र पानीको मात्रा अत्यधिक भएका कारण बालबालिका र वृद्धवृद्धालाई खान सजिलो हुने सो काँक्रो उहाँको घरबासमा मात्र नभई पोखराको पर्यटकीय क्षेत्र लेकसाइड र होटल पोखरा ग्राण्डमा समेत बिक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो । होटलमा सो काँक्रो सलादका रुपमा प्रयोग हुँदै आएको छ ।
हाइटेकभित्र लगाएका ५०० बोटले उत्पादन दिन थालेको उल्लेख गर्दै ढकालले भन्नुभयो, “ यसबाट अहिलेसम्म एक हजार ५०० केजी बिक्री गरी लगभग रु ९० हजार आम्दानी भएको छ ।” शुरुमा रु ८० होलसेल मूल्य रहेको सो काँक्रो यतिखेर भने प्रतिकेजी रु ५० मा बिक्री हुने गरेको छ । बोरा, माटोसँगै जाली र सानो रडबाट निर्मित गाह्रो र खरको छानो भएको आधुनिक ताप अनुकूलित र भूकम्पबाट पनि सुरक्षित एवं चिटिक्क परेका घुमाउने घर इन्द्रेणी घरबासको पनि छुट्टै आकर्षण रहेको छ ।
 
सञ्चालक ढकालका अनुसार यी घरमा ढुङ्गा, सिमेन्टसहितको जग तयार भएपछि जमीनको सतहबाट विराटनगरबाट मगाइएको भूकम्परहित बोरा अर्थ ब्याग मा चिम्ट्याइलो माटो भरेर सानो फलामे रड, काँडे तारबाट निर्माण गरिएको छ । त्यस्तै गाह्रोको बाहिरी भागमा जाली राखेर रातो माटोले लिप्नुका साथै बाँसको खपेटा राखी खरले छाइएको छ ।  
एक रात, दुई छाक सादा खाना, बिहानको नास्ताको प्याकेजमा प्रतिव्यक्ति रु एक हजार लिने गरिएको उहाँले बताउनुभयो । एक वर्षको अवधिमा आफ्नो घरबासमा अमेरिका, अष्ट्रेलिया, बेल्जियम, बेलायत, चीनलगायत विभिन्न देशका पर्यटक आउने गरेको उहाँले अनुभव सुनाउनुभयो । आन्तरिक पर्यटक छोटो समय बस्ने गरेको भए पनि विदेशीको हकमा भने एक हिनासम्म बस्ने गरेका छन् ।
बोराबाट निर्माण गरिएका चार वटा घरमा आठ जनासहित एउटा अर्को घरमा गरी कूल १६ जना क्षमताको घरबास कार्यक्रममा हालसम्म रु ५० लाखभन्दा बढी लगानी भइसकेको उहाँले जानकारी दिनुभयो ।
सात जनाले रोजगार प्राप्त गरेको सो फर्म सञ्चालनमा उहाँका श्रीमान् हरिबहादुर ढकाल र छोरा सागरबहादुर ढकालको महत्वपूर्ण सहयोग रहँदै आएको छ । पोखराको लेकसाइड हुँदै फेवातालको किनारैकिनार आठ किलोमिटरको दूरीमा मनोरम र शान्त स्थानमा रहेको इन्द्रेणी घरबास र अर्गानिक फर्म यतिखेर अरुका लागि पनि अनुकरणीय बन्दै गएको छ । 
Categorized in राष्ट्रिय