STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘पदमा बस्ने हो भने मदिरा छोड्नुहोस’

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १३, सोमबार

सामाजिक विकृति विरुद्धको अभियान’ थालेको बडिगाड गाउँपालिकाले अभियानको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न तहमा कडाइ गर्न थालेको छ । विकृतिको पहिचान गरी त्यसका विरुद्ध प्रहार गर्ने नीति लिएको गाउँपालिकाले जागरण अभियानसँगै गाउँका गतिविधिमा समेत कडाइ गर्न थालेको हो । पहिलो चरणअन्तर्गत चलाएको विकृति पहिचान अभियानमा सामाजिक विकृतिहरुमा गाउँका ठूलाबडाकै संलग्नता रहेको पाइएपछि कडाइ थालिएको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताउनुभयो । गाउँकार्यपालिकाले पाँचौँ गाउँसभामा उपभोक्ता समितिमा बस्ने जो कोहीले मदिरा तथा मदिराजन्य पदार्थको सेवन नगर्ने प्रतिबद्धता गर्नुपर्ने बाध्यात्मक निर्णय प्रस्तुत गरेको थियो । गाउँसभाले यो निर्णयको प्रशंसा गर्दै अनुमोदन गरेको थियो । “यो निर्णयले कम्तीमा सार्वजनिक पद चाहनेहरुलाई दायरामा ल्याउँ भन्ने हो”, अध्यक्ष पाइजाले भन्नुभयोे, “हाम्रो अभियान सफल बनाउने एउटा बाटो यो हो ।” बडिगाड गाउँपालिकाका कुनै पनि विकासे पूर्वाधार निर्माणका लागि उपभोक्ता समिति गठन गर्दा जो कोहीले स्वघोषित मदिरा तथा मदिराजन्य पदार्थको उपभोग नगर्ने सम्झौता गर्नुपर्नेछ । “स्वघोषणा नगरेसम्म उपभोक्ता समितिमा बस्न पाइँदैन”, अध्यक्ष पाइजाले भन्नुभयोे, “हामीले विकृति न्यूनीकरणको प्रयासमा यो निर्णय सहयोगी बन्ने अपेक्षा लिएका छौँ ।” गाउँमा रहेका अनेकौँ विकृतिको मुख्य कडी मदिरा भएकाले यस्तो अभियान थालिएको हो । “कम्तीमा कार्यालयमा आउँदा, कार्यक्षेत्रमा रहँदा र जिम्मेवारीमा रहने बेलासम्म मात्रै पनि मदिराको प्रयोग नगर्ने हो भने धेरै सुधार हुन्छ”, प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले भन्नुभयोे, “अनुगमनमा जाँदा उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यले मदिरा सेवन गरेको देख्न नपरोस् भन्ने हो ।” मदिरा सेवनका कारण झैझगडा हुने, जुवातास लगायतका कुलतमा मन लाने लगायतका अरू विकृतिको न्यूनीकरणका लागि पनि यो अभियान सहयोगी बन्ने उहाँको विश्वास छ । गत चैत १३ गते सामाजिक विकृतिरहित गाउँपालिका बनाउने गरी ‘सामाजिक विकृति विरुद्धको अभियान’ घोषणा गरिएको थियो । अभियानकै लागि गाउँपालिकाले तीन समूह बनाएर प्रत्येक वडामा सामाजिक चेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । साउनको अन्तिमदेखि भदौको पहिलो सातासम्म यो कार्यक्रम सञ्चालन हुनेछ । विकृति र त्यसले पार्ने असरको विषयमा तयार पारिएका हाते पुस्तिका वितरण, विकृतिकै असरको विषयमा बनेका वृत्तचित्रको प्रदर्शन, सामूहिक छलफल कार्यक्रममा समावेश हुनेछन् । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत नेतृत्वको समूहले टोलटोलमा पुगेर कार्यक्रम सञ्चालन गर्नेछन् । अभियानको प्रभावकारी कार्यान्वयनका लागि गाउँपालिकाले प्रहरी, विद्यालयका शिक्षक तथा विद्यार्थी, समाजसेवी, समूह तथा क्लबहरु र नागरिक समाजको साथ लिने अध्यक्ष पाइजाले बताउनुभयो । “जसले समाजको भलो गर्ला भनेर हामी सोचिरहेका छौँ, उसैबाट विकृतिको शुरुआत हुँदोरहेछ”, अध्यक्ष पाइजाले भन्नुभयोे, “एक न एक ठाउँबाट शुरुआत नगरी कसरी सफल भइन्छ र रु” विकृतिमा शिक्षक, समाजेवी र राजनीति गर्नेहरुको संलग्नता पाइएकाले दायरामा ल्याउनका लागि मदिरा सेवन, जुवातास लगायतका क्रियाकलापमा कडाइ गरिएको अध्यक्ष पाइजाको भनाइ छ । गाउँपालिकाले जाँडरक्सी, जुवातास, छुवाछूत, बालविवाह, बहुविवाह, अनमेल विवाह, लागुऔषध दुव्र्यसनी, दाइजो प्रथा, ज्यालामा असमानता लागयतका २८ भन्दा बढी सामाजिक विकृतिको पहिचान गरेको छ । सबै विकृतिको न्यूनीकरण गर्दै निर्मूल पार्ने बाटोमा निरन्तर लाग्ने पाइजाले बताउनुभयो ।
Categorized in राष्ट्रिय