STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चार भवन निर्माण

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १०, शुक्रबार

अन्नपूर्ण गाउँपालिका–६ घारस्थित मुक्तिमार्ग मावि, स्वास्थ्य चौकी, वडा कार्यालय र कोट मन्दिर परिसरको सामुदायिक भवन निर्माण गरिएको छ । मुक्तिमार्ग माविको भवन प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, स्वास्थ्य चौकी भवन संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, वडा कार्यालय जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र सामुदायिक भवनको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बिहीबार उद्घाटन गर्नुभयो । घारका टीकाबहादुर खड्काले रु ११ लाखमा खरीद गरेर उपलब्ध गराउनुभएको तीन रोपनी जग्गामा रु एक करोड ५४ लाख ८६ हजारको लागतमा मुक्तिमार्ग माविको तीनतले १२ कोठे नयाँ भवन र चारकोठे शौचालय निर्माण गरिएको प्रधानाध्यापक मेखबहादुर खड्काले जानकारी दिनुभयो । यस्तै स्थानीयवासी रुपा बरुवालले एक रोपनी, गोविन्द खड्काले आठ आना तथा गाउँलेले रु आठ लाख जुटाएर खरीद गरेकोसहित तीन रोपनी जग्गामा शहरी विकास तथा भवन विभागले रु डेढ करोडको लागतमा स्वास्थ्य चौकी भवन निर्माण गरेको छ । संरक्षण व्यवस्थापन समितिको एउटा कोठामा सञ्चालन हँुदै आएको स्वास्थ्य चौकीको भवन निर्माणपछि सेवा प्रवाह सहज भएको प्रमुख रिसव पाण्डेले बताउनुभयो । सभाहलसहित पाँचकोठे वडा कार्यालय भवनलाई गाउँपालिकाको रु १५ लाखमा निर्माण गरिएको हो । तत्कालीन शान्ति तथा पुनःर्निर्माण कार्यालयले शुरु गरेर अलपत्र छाडेको सो भवन निर्माणलाई गाउँपालिकाले पूर्णता दिएको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो । भवन निर्माणका लागि स्थानीयवासी रामबहादुर बरुवालले १५ आना जग्गा उपलब्ध गराउनुभएको थियो । यस्तै घारको भगवती मन्दिर परिसरमा गाउँपालिकाको रु छ लाख अनुदान तथा स्थानीय सङ्घसंस्थाको थप रु आठ लाखको लागतमा सभाहलसहितको तीनकोठे दुईतले सामुदायिक भवन निर्माण भएको छ । कार्यक्रममा सांसद थापाले निर्वाचनमा प्रतिस्पर्धा भए पनि विकासमा सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले घोडेपानीदेखि मोहरे पदमार्ग निर्माण तथा पुनहिलमा पूर्वाधार निर्माण गर्न रु एक करोड विनियोजन गरिएको जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय