STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वज्रवाराहीमा भक्तजनको भीड

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २०, सोमबार

गोदावरी नगरपालिका–११ मा अवस्थित देवी वज्रवाराहीको मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ । दशैँको नौरथा शुरु भएसँगै यहाँ भक्तजनको घुइँचो बढेको हो । सो मन्दिरमा बिहान, दिउँसो र साँझ तीनै समय दर्शनका लागि उपत्यकाको तीनै जिल्लाबाट भक्तजन उपस्थित हुने गरेका मन्दिरको सहायक पुजारी रमेश पुजारीले जानकारी दिनुभयो । “यहाँ बाह्रै महीना ब्राहकाल नै दर्शनका लागि भक्तजन उपस्थित हुने गरेका छन्”, पुजारीले भन्नुभयो, “यस मन्दिरको महिमा जान्ने घरमा गाई र भैँसी पालेका मानिस टाढाटाढाबाट दूध चढाउन धाएर आउने गरेका छन् ।” यो नेपालमा गजुर नभएको एक मात्र पुरानो मन्दिर हो । वज्रवाराही मन्दिरमा शनिबार दुईदेखि तीन सय बालबालिका, युवायुवती, वृद्धवृद्धा धुम्न र दर्शन गर्न आउने गरेका नगरपालिका–१३ का श्याम देशारले बताउनुभयो । “मङ्गलबार डेढ सयदेखि दुई सय मानिस यहाँ आउने गरेका छन्”, देशारले भन्नुभयो, “यस मन्दिरको वनमा कात्तिकदेखि फागुनसम्म चार महीना वनभोज खान दैनिक तीनदेखि चार सय मानिस आउने गरेका छन् ।” वज्रवाराही देवी काठमाडाँै उपत्यकाको पुरानो मन्दिर हो । फूलपाती, अष्टमी, नवमी र विजयादशीका दिन यस मन्दिरमा भक्तजनको बाक्लो उपस्थितीले खुट्टा टेक्ने ठाउँ नहुने नगरपालिका–११ का बासिन्दा किशोर महर्जनले जानकारी दिनुभयो । “परापूर्वकालदेखि पाटनको च्यासल निवासी नेवारहरुले बडादशैँको दिन यस मन्दिरमा आएर पूजा गर्ने चलन रहेको छ”, महर्जनले भन्नुभयो, “गोदावरीको थेचोलगायत ललितपुर महानगरपालिका सुनाकोठी र च्यासलका मानिस गरी टीकाको दिन मन्दिरमा पाँचदेखि सात हजार दर्शनार्थी आउने गरेका छन् ।” वज्रवाराही माईलाई दूध र पीठोबाट निर्मित वस्तु बढी नै मन पर्ने भएका कारण बढी भक्तजनले नैवेदका रुपमा सो वस्तु चढाउने गरेका छन् । वनभोज गर्न चाहने व्यक्तिले १० देखि १५ दिनअघि बाट ज्योतिदय सङ्घमा सम्पर्क गरेर टिकट काट्नुपर्ने हुन्छ । वनभोजबाट उठेको सो रकमलाई सङ्घले मन्दिर व्यवस्थापनलगायत वन संरक्षण र रेखदेखमा खर्च गर्ने जानकारीे दिएको छ । मन्दिरमा पर्व नपरेका बेला दैनिक पाँचदेखि सात सय र पर्व परेका समयमा धेरै रकम उठ्ने गरेको पुजारी बताउँछन् । वज्रवाराही माताको मन्दिर २४आँैँ घण्टा खुल्ने गरेको छ । मन्दिर एक्लै छाड्नु हुन्न भनी पालो परेका पुजारी मन्दिर नजीकैको सत्तलमा सुत्ने र बस्ने गरेका छन् । सो मन्दिरमा दैनिक १६ थरीको भजनकीर्तन गरिने वज्रवाराही माई नित्य भजन मण्डलका अध्यक्ष पूर्ण देशारले जानकारी दिनुभयो । “मन्दिरमा बिहान दैनिक दुईदेखि तीन घण्टा भजनकीर्तन गर्ने गर्छौं”, देशारले भन्नुभयो, “भजनटोलीमा रहेका २० देखि २५ जना मानिसले हरेक दिन मन्दिर परिसरलाई गीतसङ्गीतले मग्न बनाउने गरेका छाँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँै ।” सो मन्दिरको वरपर वनले घेरिएको छ । सो वनमा रहेको घाँस, पात र दाउरा व्यक्तिको घरमा लानु हुँदैन भनी लाने चलन नरहेको स्थानीयवासीको भनाइ छ । वज्रवाराही वनमा रहेका रूखको पात हावाले हल्लाएर बाटोमा परपर लगे पनि माताको शक्तिले अर्को पटक सो पातहरु उडाएर मन्दिर हाताभित्र ल्याउने गरेको स्थानीयवासी सीता घिमिरेले बताउनुभयो । “यस वनका काठदाउरा व्यक्तिगत प्रयोजनका लागि औजार लगाएर काट्ने चलन छैन्”, घिमिरेले भन्नुभयो, “सुकेर भाँचिएका काठदाउरा बुलुगाउँका मानिसले लास पोल्न प्रयोग गर्छन् ।” परापूर्वकालमा वज्रवाराही माताको मन्दिर अगाडि लास पोल्ने श्मशान रहेको बताइन्छ । वज्रवाराही मन्दिर लगनखेल बसपार्कबाट आठ किलोमिटर पर पर्छ । नेपालका चार वाराहीमध्ये यो सबैभन्दा प्रख्यात वाराहीको मन्दिर हो । यो मन्दिरको पूर्वमा झरुवारासी, बडिखेल पश्चिममा छम्पी, उतरमा धापाखेल र दक्षिणमा लेले रहेको छ । वज्रवाराही जङ्गलमा विभिन्न जडीबुटी तथा वनस्पति जस्तै लप्सी, सुपारी, जामुन, सिरिस, कालीकाठ, मयल, वरपीपल, भलायो, उत्तीस, चुत्रो, हाडेवेयर, जङ्गली कटुस, चिलाउने आदि पाइन्छन् । सो जङ्गलमा सुगा, सारौँ, ढुकुर आदि २९ थरीका चराचुरुङ्गीहरु पाईन्छ । वज्रवाराहीको मन्दिर चम्पापुर अर्थात् चापागाउँ शहरमा रहेको छ । चापागाउँ नेपाल संवत् ५०० सालमा स्थापना भएको यहाँको शिलालेखमा उल्लेख छ । भक्तपुरका श्रीराजदेव मल्ल राजाका जेठा छोरा जन्मेपछि ज्योतिषीले साइत हेर्दा बाबुले मुख हेर्न हुँदैन भने । ज्योतिषीले त्यो कुरा भनेपछि छोरोसहित राजाले केही मल्ल, कर्माचार्य र देशार थरका मानिसलाई यहाँ राज्य गर्न पठाएको भन्ने भनाइ रहेको छ । श्रीनिवास मल्लले नेपाल संवत् ७८६ साल चैत्रशुल्क सोमबारका दिन वज्रवाराहीदेवीको देवगृह बनाई स्थापना गरेको यहाँका बुद्धिजीवीहरुको भनाइ छ । उक्त मन्दिर बनाउनुभन्दा पहिले घनाजङ्गलको बीचमा ताल थियो । त्यही पोखरीबाट वज्रवाराहीदेवी उत्पत्ति भएकी र त्यही पोखरीमा राजा श्रीनिवास मल्लबाट मन्दिर जीर्णोद्धार भएको बताइन्छ । नेपाल संवत् ८५२ मा विष्णु मल्लबाट वज्रवाराही मन्दिरको मर्मत गरेको शिलालेखमा उल्लेख छ । एक दिन भक्तपुरका मल्ल राजा सो देवीको दर्शन गर्न आउँदा मन्दिर अगाडि मरेको मानिसको दाहसंस्कार भइरहेको देखे । पूजा गर्दा गन्हाउँछ भनी राजाले सो चितास्थललाई जनता बोलाएर अलि पर सारेको बताइन्छ । मन्दिरको सामु बनाइएको चिता आजसम्म पनि देख्न सकिन्छ । वाराही देवीको मन्दिर वरिपरि अरू नौ वटा चिता छन् । देवीको मन्दिर पहिला नभएको पछि श्रीनिवास मल्लले बनाएको स्थानीय बुद्धिजीवीको भनाइ छ । सो मन्दिर निर्माणको शुरुआत चापागाउँबाट काठ लगी भोलिपल्ट टँुडाल र झ्याल बनाई गरिएको हो । मन्दिर निर्माण पूर्ण भएपछि पाटनमा बनाएको गजुर स्थापना गर्ने क्रममा त्यहाँ कार्यरत एक कर्माचार्यलाई राति सपना भएछ । ‘गजुर राख्ने साइतमा चापागाउँको बुलुगाउँमा मरेको मानिस मन्दिर अगाडिको चितामा जलाउन ल्याएको बेला पारेर मात्र मन्दिरमा गजुर राख्नु अन्यथा जबर्जस्ती कसैले गजुर राखेमा राख्ने मानिसको टाउको फुटी मर्नेछ ।’ यस्तो सपना भएपछि सोही कुरा गाउँका बुद्धिजीवीलाई कर्माचार्यले जानकारी गराएछन् । तत्पश्चात् बनाई ल्याएको गजुर कसैले पनि राख्ने हिम्मत नगरी फर्काइ लगेको बूढापाकाहरुको भनाइ छ । वज्रवाराहीको दायाँपट्टि वासुकिनाग स्थापना गरिएको छ । त्यो पनिसँगै उत्पत्ति भएको भनिन्छ । मन्दिरको मूलढोकाको दायाँबायाँ ढुङ्गाका शेरका मूर्ति छन् । भनिन्छ ती शेरहरु धेरै वर्षअघि हिँड्थे रे । मन्दिरको अगाडि अलि पर आठ फिटमाथि ढुङ्गाको ठूलो महिषको मूर्ति छ । सो देवताको वाहन त्यही महिषलाई दूध चढाउने गरिन्छ । कसैको गाई, भैँसी, बाख्रा आदि पशुहरु बिरामी भएमा र पशुहरु बढी उत्पादन होऊन् भनेर महिष र देवीलाई दूध चढाउने चलन आजसम्म पनि रहेको छ । मन्दिरको मूलद्वार अगाडि दायाँतर्फ गणेश र मन्दिरको गाराभित्तामा काठका कुमारी, भैरव, कालीका मूर्ति छन् । चापागाउँको क्वाँगु जङ्गलमा महादेव आई बस्न खोज्दा वज्रवाराहीदेवीले बँदेलको रुप लिएर भगाएपछि गुप्तेश्वर महादेवका रुपमा ललितपुरको भारदेउमा बस्न गएको भन्ने भनाइ रहेको छ । महादेव त्यहाँ बसेको भए आज जति सो देवीको महत्व छ त्यति नै हुँदैन थियो भन्ने घराणका साथ देवीले महादेवलाई त्यहाँबाट भगाएको जनश्रुति रहेको छ ।
Categorized in राष्ट्रिय