गोकर्ण उद्यान शिलान्यास
Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक ४, सोमबार
काठमाडौँ महानगरपालिका र गोकर्णेश्वर नगरपालिकाले संयुक्त रुपमा गोकर्ण उद्यान निर्माण गर्न थालेको छ । ऐतिहासिक, धार्मिक, पौराणिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण गोकर्णको यज्ञडोल जगडोल सामुदायिक वनमा रु तीन करोडको लागतमा निर्माण गर्न लागिएको सो उद्यान शिलान्यास गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरको गौरवको आयोजनाका रुपमा यसलाई अघि बढाइने जानकारी दिनुभयो ।
नेपाल सरकारले राष्ट्रिय शहीद स्मारक निर्माण गरिरहेको सामुदायिक वनमै यो उद्यान निर्माण गर्न लागिएको हो । नगरपालिकाले अलपत्र रहेको शहीद स्मारक सम्पन्न गर्न पनि पहल गर्ने नगर उहाँकोे प्रतिबद्धता थियो ।
उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा महानगर र नगरपालिकाले रु एक÷एक करोड बजेट विनियोजन गरेका छन् । बाँकी रु एक करोड आगामी आवमा विनियोजन गरिने नगरपालिकाले जनाएको छ । सोही अवसरमा काठमाडौँ डिभिजन वन कार्यालयका प्रमुख अनिल रेग्मीले सामुदायिक उद्यमशीलता केन्द्र पनि शुभारम्भ गर्नुभयो । उक्त कार्यालय र यज्ञडोल सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलमा उक्त केन्द्र बनाउन थालिएको हो । दुबै संस्थाको रु तीन लाखको लागतमा केन्द्रमा काठका सामग्री बनाउन थालिएको सामुदायिक वनका अध्यक्ष सिग्देलले राससलाई बताउनुभयोे । कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौँकी सदस्य सान्नानी लामाले उद्यान र स्मारक निर्माण समयमै सकिनुपर्नेमा जोड दिनुभयो ।
Categorized in राष्ट्रिय


