अटेर गरे घरधनी जवाफदेही : कीर्तिपुर नगरपालिका
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २, शुक्रबार
ललेन्द्र शाक्य
विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण उपत्यकामा पनि देखिइरहेको समय कीर्तिपुर नगरपालिको अत्यन्त जरुरी सुचना सार्वजनिक गरेको छ ।
उपत्यकामा देखिइरहेको भाइरस संक्रमणको कारण नगरक्षेत्रलाई बचाउन उच्च सतर्कता अपनाउन सुचनामा भनिएको छ ।
एक विज्ञप्तिमार्फत् दिइएको सुचनामा कीर्तिपुरमा अपरिचित एवं नयाँ व्यक्तिलाई निगरानीमा राख्न, त्यस्ता व्यक्तिको विषयमा सम्बन्धित वडाध्यक्ष, नगरपालिका वा स्थानीय प्रहरीलाई खबर गर्न नगरबासी एवं सरोकारवालालाई आह्वान गरिएको छ ।
यसैगरी नयाँ अनुहारलाई अहिलेको समय घर–कोठा बहालमा नदिन एवं घरमा भाडामा बस्नेहरु उपत्यका बाहिर भए यस अवधिमा घरमा पस्न नदिन, अत्यन्त जरुरी भए कोरोना परीक्षण गरी आरआरटी वा पिसिआर रिपोर्ट नेगेटिभ भएमात्र घरमा पस्न दिनु भनिएको छ ।
यसमा अटेर गरे घरधनीसँगै स्वयं व्यक्ति जिम्मेवार हुने विज्ञप्तिमा उल्लेख छ ।
कीर्तिपुरका मेयर रमेश महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा खाद्यान्न, तरकारी, डेरी पसलसँगै अत्यावश्यक वस्तु र सेवा बिक्रीवितरण बिहान ९ बजेसम्म खोल्न र खोल्न दिन पनि भनिएको छ । आधिकारिक पासविना सवारी साधन संचालन नगर्न, नगराउन भनिएको विज्ञप्तिमा नगरक्षेत्रबाहिरकाहरु नगरपालिकाको सुरक्षित स्थानमा बस्नुपरे खाद्यान्नलगायत सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिले नै व्यहोर्नुपर्ने भनिएको छ ।
Categorized in राष्ट्रिय