अन्नपूर्ण देवी (असं भलु अजिमा) को देवघर पुननिर्माणका लागि शिलान्यास सम्पन्न
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ फाल्गुण २०, शुक्रबार
असंभलु अजिमाका रुपमा पुजिंदै आएको अन्नपूर्ण देवी को देवघर पुननिर्माणका लागि शुक्रबार शिलान्यास सम्पन्न भएको छ । काठमाडौँ महानगरको वडा नं २७ भोटाहिटीमा रहेको देव घर बनाउन आज महानगरका मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभएको हो । यस देव घरमा असन चोकमा विराजमान रहेकी अन्नपूर्ण अजिमाका गरगहना, देवीको जात्रामा निकालिने मूर्तिहरु, त्यससँग सम्बन्धित बाजागाजा र सामग्री राख्ने गरिन्छ । यस्तै बाजा प्रशिक्षण, सम्बन्धित गुठीयारहरुको बैठकलगायतका काममा घरको प्रयोग हुने गरेको छ । महानगरले यसको पुननिर्माणका लागि पहिले नै प्रयास गरेको थियो । गुठीयारबीच भएको मतभेदका कारण काम अघि बढ्न सकेको थिएन ।
शिलान्यासपछि बोल्दै मेयर शाक्यले, सांस्कृतिक सम्पदाहरुको मर्मत सम्भार र पुननिर्माणका लागि गुठीयारको स्रोतले नपुग्ने देखेपछि राज्यकातर्फबाट महानगरले सहयोग गरेको उल्लेख गर्नुभयो ।
सम्पदा पुननिर्माण गर्न आफूले लगानी गर्न खोजेर पनि काम गर्न नपाएको प्रसङ्गमा मेयर शाक्यले असन चेक स्थित यिटा चपाः (सार्वजनिक घर) को उदाहरण दिंदै कोविड आएपछि आइसोलेसनको कुरालाई महत्व दिए जस्तै नेपालमण्डलमा बाहिरबाट आउने जानेले आइसोलेसनमा बस्ने परम्परा पहिले देखि नै यिटा चपा रहँदै आएको कुरा यसको जीवन्त प्रमाण हो भन्नु भयाे ।
तहगत सरकारका जिम्मेवारीमध्ये संस्कृति, सम्पदा, भाषा, कला, साहित्य बचाउने जिम्मा स्थानीय सरकारकै हो । उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, ‘हामीले सम्पदा बचाउन लिएको नीति कार्यान्वयन भएको छ । यसका परिणामहरु आउन छन् । बाँकी रहेका सम्पदा बचाउनु र नासिएकालाई पुनस्र्थापना गर्नुलाई हामीले जिम्मेवारीका रुपमा लिएर काम गरिरहेका छौँ ।’
भित्री सहरी क्षेत्रमा काठमाडौँको मौलिक परम्परासँग जोडिएका बस्ती छन् । भौतिक संरचना छन् । तिनलाई जोगाउनु हाम्रो प्रमुख काम हो । वडाध्यक्ष चिनियाँमान बज्राचार्यले जीर्ण भएर बनाउनु पर्ने अवस्थामा पुगेका सबैजसोमा काम थालिएको र कतिपयको पुननिर्माण सकिएको छ भने कतिपय निर्माण सम्पन्नताको चरणमा छन् भनि भन्नुभयो ।
असंभलु अजिमासँग सम्बन्धित धार्मिक सांस्कृतिक गतिविधिहरु ज्यापू, तुलाधर, शाक्य र बज्राचार्यले सञ्चालन गर्छन् ।
यसको पुननिर्माणका लागि महानगरले करिब ७६ लाख रुपैयाँ उपलब्ध गराउने छ । यसमा जनसहभागिता थपिनेछ । महर्जनकाअनुसार नेपाल संवत ९३१ मा देवघर पुननिर्माण भएको शिलापत्र पाइएको छ । यसको निर्माण कहिले भएको हो, मिति पाउन सकिएको छैन ।
देवघरको पुननिर्माण अन्नपूर्ण द्यः छेँ उपभोक्ता समितिले गर्नेछ । समितिका अध्यक्ष रमेश महर्जनकाअनुसार देव घरको पुननिर्माण २०७९ पुस मसान्तसम्ममा सक्ने लक्ष्य छ । २ आना २ दाम जग्गामा निर्माण हुने भवन ४ तलाको हुनेछ ।
Categorized in उपत्यका

