राजधानीमा टोल टोलमा फिल्म महोत्सव आरम्भ
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ ६, शनिबार
काठमाडौं महानगरपालिकाले शुक्रवार साँझ खुला मञ्चबाट ‘टोल टोलमा फिल्म महोत्सव’ को औपचारिक शुभारम्भ गरेको छ ।
खुला मञ्चमा अमन शाही निर्देशित सर्ट फिल्म ‘नन्द’, ताराङ् निर्देशित सर्ट फिल्म ‘सवारी साहित्य’ तथा इशान भुषाल निर्देशित सर्ट फिल्म
‘पेन्गुइन रिभोलुसन’ प्रदर्शन गरिएका छन् ।
यी सर्ट फिल्महरु काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलसँगको सहकार्यमा प्राप्त भएका हुन् । महोत्सवका कार्यक्रम असार महिना भरि हरेक शुक्रवार तथा शनिवार सञ्चालन हुनेछन् । यीकार्यक्रममा प्रदर्शन गरिने सर्ट फिल्म चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल नेपाल, युनेस्को, काठमाडौँ माउन्टेन इन्टरनेशनल फिल्म फेस्टिभल, नेपाल फिल्म एकेडेमीसँग सहकार्यमा प्राप्त भएका छन् ।
कार्यक्रमको प्राविधिक पक्ष महानगरपालिका आफैँले व्यवस्थापन गरेको छ भने व्यवस्थापनका खुला आव्हानबाट स्थानीय संघसंस्थाहरु छनोट गरेको छ । यसरी छानिएका संस्थाहरुले कार्यक्रम व्यवस्थापन गर्नेछन् । यसअन्तर्गत आजको कार्यक्रम इकोज इन द भ्यालीले गरेको छ । भोलि असन क्षेत्रमा महोत्सव हुनेछ । यो कार्यक्रम नीलः सांस्कृतिक क्लवले गर्नेछ ।येँःका पुचले बालाजु बाइपास क्षेत्रमा, निर्णय नेपालले बागबजार सडक खण्डमा, नेपाल भाषा स्यनेकने फाउण्डेसन, यट्खा बहाल भाष्करकीर्ति महाविहारमा, न्हुग पःला सांस्कृतिक मिसा पुचःले लगनटोल, मैतीदेवी युनाइटेड क्लवले मैतीदेवी मन्दिर खुला चौरमा कार्यक्रम व्यवस्थापन गर्नेछन् । सार्वजनिक स्थल, पार्क, डवली, चोकहरुमा फिल्म महोत्सवका कार्यक्रम आयोजना गर्ने योजना अनुरुप यी स्थान छानिएका हुन् ।
नेपाली फिल्म क्षेत्रको विकास र विस्तारलाई योगदान दिन रचनात्मक उद्योग र समुदायसँग जोड्नु यो महोत्सवको मुख्य उद्देश्य हो । महोत्सवमा लघु चलचित्र प्रदर्शन, चलचित्र, कला तथा रचनात्मक उद्योग लगायत विषयमा संवाद, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम तथा क्रियाकलाप हुनेछन् । मौलिक खानाका परिकार राखिनेछन् ।
नेपाली फिचर फिल्म ‘इलिफेन्ट इन द फग (तिनीहरु) लाई सम्मान
कान्स फिल्म फेस्टिभलमा अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ र ‘वेस्ट साउण्ड क्रियसन’ अवार्डेड नेपाली नेपाली फिचर फिल्म ‘‘इलिफेन्ट इन द फग (तिनीहरु)’लाई नगद १० लाख रुपियाँसहित सम्मान गरिएको छ ।
२०८३ वैशाख २९ गतेदेखि जेठ ९ गते (१२–२३ मे, २०२६) सम्म फ्रान्समा आयोजना भएको कान्स फिल्म फेस्टिभलको ७९ औँ श्रृङ्खलामा अविनाश विक्रम शाह निर्देशित नेपाली कथानक चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरु)’ले अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ प्राप्त गरेको थियो । कान्स प्रिमियरमा चलचित्रलाई दर्शकले उभिएर निरन्तर ८ मिनेट लामो तालीबाट सम्मान दिनुभएको थियो । फेस्टिभलमा चलचित्रले ‘वेस्ट साउण्ड क्रियसन’ अवार्ड समेत प्राप्त गरेको थियो ।
नेपाली चलचित्र उद्योगको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा उच्च बनाउन चलचित्रका लेखक, निर्माता, निर्देशक, कलाकार, प्राविधिक तथा पर्दा अगाडि र पछाडि रहेका सबै सर्जकको सिर्जनालाई प्रोत्साहन गर्न काठमाडौँ महानगरपालिकाले सम्मान प्रदान गरेको हो ।
नेपालको काठमाडौँ र फ्रान्सको कान्स दुवै नगर ‘चलचित्र विधा’बाट ‘युनेस्को क्रियटिभ सिटीज नेटवर्क’को सदस्य हुन् ।
काठमाडौं महानगरपालिका प्रवक्ता नविन मानन्धरले रचनात्मक उद्योगका आयाम बढाएर स्थानीय आयमार्फत जनसाधारणको जीवनमा रुपान्तरण र विकासका लागि चलचित्र विधामार्फत काठमाडौं महानगरपालिकाले सञ्चालन गरेका तथा भविष्यमा सञ्चालन गरिने कार्यक्रममा आमसञ्चारकर्मीबाट सिर्जनात्मक सहयोगको अपेक्षा गरेको बताएका छन् ।
Categorized in उपत्यका

