STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अफगानिस्तानबाट ५०४ नेपाली स्वदेश फर्किए

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र ६, आइतबार

काठमाडौँ - अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आज साँझसम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन् ।

अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण रोजगारीको सिलसिलामा रहेका नेपालीको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धार गर्न मन्त्रालयको मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

कार्यदलको आज सातौँ बैठक बसेको जानकारी दिँदै परराष्ट्र मन्त्रालयले उद्धार गर्न बाँकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रसँगको समन्वय, उद्धारपछिको स्वदेश फिर्ती आदिको अद्यावधिक विवरण एवं पछिल्लो अवस्थाका बारेमा छलफल भएको हो । उद्धारका लागि सूचीकृत भएकामध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्धार भई सुरक्षित स्थानमा पुगेकाको विवरण रुजु गरी उद्धार हुन बाँकीको विवरण अद्यावधिक गरिएको छ । उद्धार हुन बाँकी व्यक्तिको विवरण स्थानगत रूपमा अद्यावधिक गरी उद्धारका लागि उद्धार उडान गरिरहेका मित्र राष्ट्रसँग सहकार्य र समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

काबुलमा नागरिक उड्डयन सेवाको हवाई जहाज आगमन अवतरण खुली नसकेकोसमेत मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयले उपलब्ध गराइएको अनलाइन पोर्टल भाइबर, ह्वाट्सएपमा आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ । रासस

Categorized in राष्ट्रिय