अब वडामा शुल्क तिरी दर्ता गरेपछि मात्र कुकुर पाल्न पाउने
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ५, शुक्रबार
काठमाडाैैं महानगरपालिकाले ल्याउन लागेकाे नयाँ नियम अनुसार अब घरपालुवा कुकुरलाई वडा कार्यालयम अनिवार्य दर्ता गराउनुपर्नेछ ।
वडामा शुल्क तिरेर कुकुर दर्ता गरेपछि मात्र कुकुर पाल्न अनुमति पाउनुहुनेछ ।
महानगरबासीले मनपरी रुपमा कुकुर पाल्ने, जथाभावी दिसापिसाब गराउने र रोगी र बूढो भएपछि बाटोमा छाडिदिने बानीको अन्त्य गर्न अनिवार्य रुपमा कुकुर दर्ता गराउने नीति अघि सारेको हो
कामपाले हिजो बिहीबार सार्वजनिक गरेको आव २०७७/२०७८ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था ल्याएको हो । कामपाका मेयर विद्यासुन्दर शाक्यले कुकुर पाल्नेले राम्रोसँग हेरबिचार गर्नुपर्ने भावनालाई अघि बढाउँदै अनिवार्य रुपमा कुकुरको दर्ता गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अब कसैले पनि कुकुर पाल्दा वडामा दर्ता गरेर, रेकर्ड राखेपछि मात्रै अनुमतिपत्र दिनेछौं ।’
नीति तथा कार्यक्रमको आर्थिक तथा रोजगारी नीतिअन्तर्गत कृषि, खाद्य तथा पशु नीतिको ६७ नम्बर बुँदामा घरपालुवा तथा छाडा पशुमा हुने रेबिज रोगको उन्मूलन गर्न बृहत् भेक्सिनेसन कार्यक्रमअन्तर्गत घरपालुवा जनावरको स्वाथ्य जाँच सेवाका लागि उपचार केन्द्रको व्यवस्था गरिने उल्लेख छ । सोही बुँदामा कुकुर पाल्नका लागि महानगरको अनुमति अनिवार्य गरिने उल्लेख छ ।
कामपाका प्रवक्ता ईश्वरमान डंगोलले महानगरले अघि सारेको नीतिलाई यो वर्षको भदौबाट कार्यान्वयनमा ल्याइने बताउनुभयो । कति शुल्क तय गर्ने भन्ने विषयमा बजेट सभाले निर्णय गर्ने उहाँको भनाइ थियो ।
कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले कुकुर पालेपछि त्यसलाई छाडा नछाड्ने, प्रत्येक वर्ष रेबिजलगायतको भ्याक्सिन दिने व्यवस्था नगरेर पालेपछि बाटोमा छाड्ने प्रवृत्तिको अन्त्य गर्न अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था अघि सारिएको जानकारी दिनुभयो । बजेट पारित भएलगत्तै कामपाले घरमा पालिएका सबै कुकुरको तथ्यांक संकलन गरिनेछ ।
सबै वडाले कुकुरको तथ्यांक संकलन गरेपछि रेकर्ड राखिने व्यवस्था गरिएको छ । प्रवक्ता डंगोलले अब राजधानीको सबै कुकुरको तथ्यांकसहित अनुमतिपत्र दिने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।
Categorized in उपत्यका