अर्थमन्त्रीद्वारा चोभार सुख्खा बन्दरगाहको उद्घाटन
Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र २२, मंगलबार
काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले आजदेखि काठमाडौं उपत्यका सडकमार्फत् समुन्द्रसम्म जोडिएको बताएका छन् । मंगलबार काठमाडौंको चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले समुद्रमा लोड भएका कन्टेनरहरु सडकमार्फत् बन्दरगाह आउने भएकाले काठमाडौं समुद्रसँग जोडिएको बताएका हुन् ।
उनले अब समुन्द्रबाट छुट्ने कन्टेनर सिधै चोभार सुख्खा बन्दरगाहमा आउँने बताए । मन्त्री शर्माले सुख्खा बन्दरगाह सञ्चालनमा आएसँगै व्यापार/व्यवसायको प्रबद्र्धधनमा सहयोग पुग्ने बताए । चोभार सुख्खा बन्दरगाह आयातको केन्द्रका रूपमा नभइ निर्यातको केन्द्रका रूपमा विकास हुनुपर्ने भन्दै अर्थमन्त्री शर्माले बन्दरगाहबाट नेपालमा उत्पादित वस्तु अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्ने बाटो खुल्ला भएको बताए ।
उनले यतिबेला नेपालको अर्थतन्त्रलाई कोरोना महामारी र रुस युक्रेन युद्धले असर गरेकाले चुनौती थपिएको बताए । रुस र युक्रेनबीचको युद्धले पेट्रोलियम पदार्थको मूल्य बृद्धि र रेमिट्यान्स खुम्चिए पनि फागुन मसान्तमा रेमिट्यान्समा केही सुधार भएको दाबी गरे ।
उनले थपे, ‘अब समुन्द्रबाट छुट्ने कन्टेनर सिधै चोभार सुख्खा बन्दरगाहमा आउँछ । हामी सडकमार्फत अब सिधै समुद्रसँग जोडिएका छौं । समुद्रको किनारबाट भरिने कन्टेनरहरु सिधै यस बन्दरगाहमा आउने छन । जाँच पास लगायतका कुराहरु यहीबाट हुने छन । व्यापार सहजिकरणमा महत्वपूर्ण योगदान पुर्याउने छ । लागत र समयका देष्ट्रिकोणले हामी थप उपलब्धी लिने छौं । लागत पनि कम हुने छ ।’
त्यस्तै, नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले २०७८ असारमा नै बन्दरगाह संरचनाको निर्माण सम्पन्न भएको बताए । उनले बन्दरगाहमा ५ सय कन्टेनर ५ सय ट्रकको अट्ने गरी ६५ हजार वर्गकिलोमिटरको पाकिङ क्षेत्र रहेको बताए ।


