STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

असार १ बाट वैकल्पिक व्यवस्थाको पढाइ, मन्त्रालयबाट निर्देशिका स्वीकृत

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १९, सोमबार

काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी लकडाउनका कारण विद्यालयहरु बन्द रहेका छन् । यसले घरमै रहेका विद्यार्थीहरुको पढाइबारे प्रश्नहरु उठिरहेका छन् । यससम्बन्धमा अब सरकारले वैकल्पिक व्यवस्था गरी असार १ गतेदेखि पठनपाठन गराइने भएको छ । कोरोना महामारीले तत्काल विद्यालय खुल्ने सम्भावना नरहेपछि शिक्षा मन्त्रालयले वैकल्पिक व्यवस्थाबाट विद्यार्थीलाई पठनपाठन गराउन लागेको हो । त्यसका लागि शिक्षा मन्त्रालयले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ आइतबार स्वीकृत गरेको छ । विद्यालय खुलेर नियमित पठनपाठनको सहज अवस्था सिर्जना नहुञ्जेल खुला तथा दुर शिक्षालगायत वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइ सहजीकरण गर्न निर्देशिका ल्याइएको मन्त्रालयले जनाएको छ । ‘असार १ गतेबाट उक्त निर्देशिका बमोजिम वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने, गराउने व्यवस्थाका लागि संघ, प्रदेश र स्थानीय तहका सबै निकायहरूलाई अनुरोध छ,’ मन्त्रालयले सूचना निकालेर भनेको छ ।  विद्यालय खोल्नेबारे हालसम्म कुनै निर्णय भने नभएको मन्त्रालयले प्रष्ट पारेको छ । ‘विद्यालय खुला गरी पठनपाठन सञ्चालन गर्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको व्यहोरा अनुरोध गर्दै कोरोना महामारीको अवस्था र परिस्थिति हेरी सरकार, मन्त्रिपरिषदबाट प्राप्त हुने निर्देशनअनुसार पछि जानकारी गराइन्छ,’ मन्त्रालयले भनेको छ । निर्देशिकामा प्रविधिका माध्यमबाट पठनपाठन गर्न सकिने उल्लेख छ । इन्टरनेट, रेडियो, टिभी, अनलाइन र अफलाइनबाट पठनपाठन गर्न सकिन्छ । मन्त्रालयले जारी गरेको निर्देशिका सामुदायिक, संस्थागत, सार्वजनिक, निजी शैक्षिक गुठीद्वारा सञ्चालन गरिएका विद्यालयले प्रयोग गर्नुपर्नेछ । निर्देशिकामा तीनै तहका सरकार, सञ्चार माध्यम, विद्यार्थी, शिक्षकलगायतका भूमिका समावेश गरिएका छन् ।
Categorized in राष्ट्रिय