STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

असिनाले करोडौं मूल्यका बाली नष्ट

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

लगातार परेको असिनापानीले बाली नष्ट हुँदा जिल्लाका कृषक मर्कामा परेका छन् । असिनाले खाद्यान्न, लहरेबाली र सुन्तला नष्ट गरिदिएपछि उनीहरु मर्कामा परेका हुन् ।
तनहुँको ब्यास नगरपालिका–१० का कृषक विष्णुप्रसाद बजगाईंले ६ रोपनी क्षेत्रफलमा लगाएको मकै असिनाले पूरै सखाप बनाएको जानकारी दिनुभयो । सोही वडाका पार्वती सुवेदीले असिनाले पाँच रोपनी क्षेत्रफलमा लगाएको लहरेबाली नष्ट गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुःख गरेर लहरेबाली लगाइयो, लगातार परेको असिनाले पूरै नष्ट पारिदियो ।” 
असिनापानीले ब्यास नगरपालिका–५, ८, १०, ११, १२, १४ लगायतका ठाउँमा खेतीबाली नष्ट बनाएको सूचना आएको ब्यास नगरपालिकाका कृषि शाखाप्रमुख विश्वराज वाग्लेले जानकारी दिनुभयो । 
राहतको आश गर्दै नगरपालिकामा आएका कृषकलाई प्रमुख वाग्लेले बीमा गरेका बाहेकले क्षतिपूर्ति पाउन गाह्रो हुने बताएपछि कृषकहरु निराश भएका छन् । वाग्लेले कृषि बीमा गरेका कृषकलाई बीमा कम्पनीले नै क्षतिपूर्ति दिने तर अन्य कृषकलाई भने राहतको व्यवस्था कार्यालयबाट गर्न गाह्रो हुने बताउनुभयो । 
कृषक बजगाईंले कृषि बीमाका बारेमा आफूलाई जानकारीसमेत नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “बीमाका बारेमा पहिल्यै कृषकलाई जानकारी गराएको भए बीमा गर्न हुन्थ्यो तर अहिले खेती गर्दाको लगानी पनि डुब्यो । राहत पाउने आश पनि हरायो ।”
असिनापानीले जिल्लाकै शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कृषकको सुन्तलासमेत नष्ट गरेको छ । गत वर्ष २८ लाखको सुन्तला बिक्री गरेका कृषक कमल महतको सुन्तला बगान असिनाले नष्ट बनाएको छ । उहाँका अनुसार भर्खरै दाना लागेको सुन्तला असिनापानीले चुटेर भुइँभरि झारेको छ । 
उहाँले भन्नुभयो, “आधाभन्दा बढी बतिला असिनाले झारेको छ । बोटमा बाँकी रहेका दाना चोट लागेका मात्र छन् । भर्खरै फल लागेको हुनाले अब बाँकी रहेका दाना राम्रोसँग सप्रिन्नन् ।” वर्षभरिको घरखर्च सुन्तला बेचेर भएको आम्दानीबाट चलाउने गरे पनि यो वर्ष असिनाले नष्ट गरेपछि आम्दानी हुन गाह्रो भएको उहाँको गुनासो छ । 
यहाँका सुन्तला कृषक जगतबहादुर महत, नेत्रबहादुर महत, दिलबहादुर केसी, लोकबहादुर महतलगायत सबैको बगानमा रहेको सुन्तला असिनापानीले नष्ट बनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुन्तला पकेट क्षेत्र नाम्सीकोट आसपासबाट किसानले गत वर्ष रु चार करोडभन्दा बढीको सुन्तला बिक्री गरेका थिए । यो वर्ष २५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको थियो ।
वडा सदस्य दानुमाया महतले असिनाले सुन्तला बगानमा करीब दुई करोडभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “क्षतिको विवरण सङ्कलन गर्न बाँकी नै रहेकाले अझै बढ्न सक्ने सम्भावना छ ।” नाम्सीकोटमा आधाभन्दा धेरै सुन्तला असिनाले नष्ट बनाएको भने पाल्पालीछाप, ज्याङलादी र अलैँचेमा भने नाम्सीकोटको तुलनामा अलिक कम क्षति भएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै शुक्लागण्डकी नगरपालिका–११ साँखेका कृषक महेन्द्र गौतमले असिनाले तरकारी बालीमा क्षति पु¥याएको जानकारी दिनुभयो । उहाँका अनुसार फल्ने बेला भएको काँक्रो, घिराँैला र करेला पूर्ण रुपमा क्षति भएको छ भने दुई पटक गोडमेल गरिएको, घोगा हाल्ने बेलाका मकै फेरि छर्नुपर्ने अवस्था भएको छ ।
शुक्लागण्डकी नगरपालिकाका कृषि शाखाप्रमुख नवराज पण्डित असिनाले किसानले लगाएको सुन्तला, खाद्यान्न र लहरे बालीमा क्षति पु¥याएको जानकारी दिनुभयो । उहाँका अनुसार किसानलाई क्षतिको विवरण टिपाउन अनुरोध गरिएको छ । नगरपालिकाले क्षतिपूर्ति दिन सक्ने अवस्था नभएकाले प्रदेश सरकारसँग माग गरेर किसानलाई राहत दिलाउने उहाँले जानकारी दिनुभयो । 
Categorized in राष्ट्रिय