STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आजकाे कांग्रेस बैठक बिहीबारकाे लागि सारियाे

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक २४, सोमबार

काठमाडौँ - आज साेमबार बस्ने भनिएकाे कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । सोमबार दिनको १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक २७ गते बिहीबारसम्मका लागि सारिएको हो ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्तिमार्फत बैठक सारिएको जानकारी दिएका छन् । उनका अनुसार बिहीबारको बैठक दिउँसो १ बजे बस्नेछ ।

यसअघि २१ गते शुक्रबारका लागि बोलाइएको बैठक पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मागमा सहमति नजुटेपछि सोमबारका लागि सारिएको थियो ।

पौडेल पक्षले असोज ११ गते केन्द्रीय कार्यालयमा दर्ता गराएका विषय सम्बोधन नभए बैठकमा नजाने जनाउ दिएपछि पटक पटक बैठक सर्दै आएको छ । आन्तरिक विवादलाई अनौपचारिक बैठकमै टुंग्याउन पौडेल पक्षले जोड दिँदै आएको छ ।

पौडेल पक्षले अन्य राजनीतिक दलबाट कांग्रेस प्रवेश गरेका नेताहरूको समूहलाई समायोजन गर्ने नाममा क्रियाशील सदस्यता ‘मनपरी’ वितरण गरेको आरोप लगाएको छ । प्रक्रिया र विधानविपरीत क्रियाशील सदस्यताको वितरण रोकिनुपर्ने पौडेल पक्षको माग छ । विधान र आचार संहिताविपरीत विभाग गठन गरी सदस्य मनोनयन गरिएको भन्दै त्यस्तो निर्णय बदर हुनुपर्ने माग पनि पौडेल पक्षले उठाउँदै आएको छ ।

Categorized in राजनीति