आजदेखि उपत्यकाको निषेधाज्ञामा थप कडाइ
Janjati Khabar – Janjati Khabar | २०७८ जेठ १४, शुक्रबार
कोरोना भाइरसको नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञामा आजदेखि थप कडाइ हुने भएको छ ।
आजदेखि निषेधाज्ञाको उल्लंघन गर्नेलाई कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश बमोजिम नगद जरिवाना तथा कैद सजाय हुने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन् ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरूको मंगलबार बसेको बैठकले थप कडाइ गर्दै एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । १६ वैशाखदेखि सुरु भएको निषेधाज्ञा २१ वैशाखमा थप गरेर १३ जेठसम्म पुर्याइएको थियो ।
संक्रमण दरमा कमी नआएपछि निषेधाज्ञा लम्ब्याउँदै थप कडाइ गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
आजदेखि खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोर पनि बन्द गर्ने भएको छ । अत्यावश्यक सेवाबाहेक अन्य कामका लागि आवतजावत पूर्ण रूपमा रोक लगाइएको छ । मर्निङ वाक् र इभिनिङ वाक्लाई पनि बन्द गरिएको छ ।
त्यसैगरी, अत्यावश्यक सामान किन्दा भौतिक दूरी कायम गरी मास्क लगाउनुपर्ने र सो नभए जरिवाना गर्न प्रहरीलाई निर्देशन दिइएको छ । पहिलो पटक मास्क नलगाउनेलाई १ सय र अर्को पटक पनि नलगाएको पाइए पटकैपिच्छे २ सय रुपैयाँ जरिवाना गरिने भएको छ ।
विवाह र ब्रतबन्धको कार्यमा यसअघि १० जनाको व्यवस्थालाई हटाएर सात जनामा सीमित राखिएको छ भने त्यस्ता कार्यका लागि एउटा सवारीसाधनलाई मात्रै पास उपलब्ध गराइने भएको छ ।
त्यसैगरी, एक हप्ताका लागि अत्यावश्यक हरियो तरकारी फलफूल र मासुजन्य पदार्थ, दूधलगायतका अत्यावश्यक खाद्य पदार्थ बिहान ९ बजेसम्म खरिद गर्न पाइने र खाद्यान्न र किराना पसल, डिपार्टमेन्टल स्टोर, सार्वजनिक निर्माण र निजी निर्माणका काम गर्न रोक लगाइएको छ । निर्माण सामग्रीको ढुवानी पनि गर्न पाइने छैन ।
बैंक तथा वित्तीय संस्था सञ्चालनमा पनि कडाइ गर्दै वर्गीकरण गरेर संख्या तोकिएको छ । वित्तीयलगायत संस्थामा काम गर्ने कर्मचारीहरूका लागि बिहान ९ देखि साढे ९ र साँझ ५ देखि ६ बजेभित्र कार्यालय आउनेजाने समय तोकिएको छ ।
सञ्चारकर्मीको हकमा सूचना विभागद्वारा जारी गरेको प्रेस पास र सो नभएको अवस्थामा सम्बन्धित मिडिया हाउसको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरिएको पत्रका आधारमा सूचना संकलन र सम्प्रेषण गर्न दिइने भएको छ ।
साथै, यसअघि जिल्ला प्रशासन कार्यालयलगायत विभिन्न निकायबाट जारी गरिएका पूराना पासहरूलाई रद्द गरिएको छ ।
अनुमति नलिइ सवारी चलाएमा २ पाङ्ग्रे सवारीसाधनलाई २ हजार रुपैयाँ र चार पाङ्ग्रे सवारीसाधनलाई ५ हजार जरिवाना गर्नुको साथै संस्थालाई ५ लाख र व्यक्तिलाई १ लाखसम्म जरिवाना गर्ने र छ महिनासम्म सेवा बन्द गर्न सकिने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी पराजुलीले स्थानीय प्रशासनले अत्यावश्यक सेवाका लागि आवश्यक समन्वयन गरी सहयोग गर्न जुनसुकै अवस्थामा पनि तयार रहेको बताए । तर, अत्यावश्यक काम नपरी दूध, तरकारी किन्ने नाममा घर बाहिर ननिस्कन र स्वास्थ्य सतर्कता मापदण्डको पूर्ण पालना गर्न उनले सबैमा अपिल गरे ।
Categorized in उपत्यका

