STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आजबाट सातै प्रदेशमा कोरोना खोप अभियान

Janjati Khabar – Janjati Khabar | २०७७ माघ १४, बुधबार

काठमाडौं - सरकारले नेपालमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्ध बुधबार खोप अभियान सुरु गर्दै छ। 

यो अभियानआज बुधबार बिहान १० बजे सातै प्रदेशबाट सुरु गरिँदै छ।

‘खोप लगाएपछि कसैलाई कुनै असर देखिँदैन। कसै–कसैलाई सामान्य  असर देखा पर्न सक्छ। जीउ दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, अल्छी लाग्ने, कमजोरी महसुस हुन सक्छ। खोप लगाएको ठाउँमा दुख्न सक्छ। डाबर देखिन सक्छ। ती असर केही समयपछि आफैं हराएर जाने हुन्छ’, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएकाे छ ।

परिषद्ले खोप भण्डारण, ढुवानी, खोप लगाउँदा र लगाइसकेपछिको प्रभावबारे निर्देशिका बनाएर अनुसन्धान गर्दै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६२ अस्पताल र १ सयभन्दा बढी खोप केन्द्रमा खोप लगाइने जनाएको छ।

देशका सातै प्रदेशमा ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य राखिएकाे छ ।

काठमाडौंमा सरकारी र निजी गरी ११ वटा ठूला अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको छ।

पहिलो चरणमा भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोज लगाउन लागिएको हो। प्रदेश १ मा ९६ हजार,  प्रदेश २ मा ३४ हजार, बागमतीमा ७६ हजार डोज खोप भण्डारण गरिएको छ। त्यस्तै गण्डकी प्रदेशमा ४० हजार,  लुम्बिनीमा ८८ हजार, कर्णालीमा १२ हजार र सुदूरपश्चिममा १६ हजार खोप पुर्‍याइएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गर्भवती, सुत्केरी, स्तनपान गराइरहेका महिला र १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई खोप अभियानमा सहभागी गराइनेछैन। खोप लगाउनेलाई खोप लगाएको प्रमाणका रूपमा परिचयपत्र वितरण गरिनेछ। परिचयपत्रमा खोप लगाउने व्यक्तिको नाम, उमेर, पालिका, वडा नम्बर, सम्पर्क नम्बर, पहिलो र दोस्रो पटक खोप लगाएको मिति, खोपको नाम, खोपको ब्याच नम्बर तथा खोप लगाइदिने स्वास्थ्यकर्मीको नाम उल्लेख हुन्छ।

प्रवक्ता डा. गौतमले एउटा डोज लगाएको चार सातापछि दोस्रो पटक लगाउनुपर्ने बताए। दोस्रोपटक खोप लगाउँदा कार्ड अनिवार्य रूपमा पेस गर्नुपर्ने नियम बनाइएको छ।

Categorized in स्वास्थ्य-मौसम