STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आज छठकाे मुख्य दिन, अस्ताउदो सूर्यलाई अर्घ दिइने

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर ५, शुक्रबार

काठमाडाैँ – छठ मिथिला तथा तराईवासीहरुको सबैभन्दा ठूलो र पवित्र पर्व हो । पछिल्लो समय त छठप्रतिको विश्वासका कारण पहाडी समुदाय र काठमाडौं उपत्यकामा समेत छठ मनाउनेहरुको सख्या बढ्दै गएको छ ।

लोकआस्थाको महापर्व मानिने छठको आज तेश्रो तथा मुख्य दिन आज शुक्रबार व्रतालुहरु भक्तिभावका साथ साँझ अस्ताउदो सूर्यलाई अर्घ दिने तयारी गर्दैछन् । परिवारका सम्पूर्ण सदस्यहरुको सहभागीता रहने यस पर्वमा हरेक सदस्यले शुद्धता तथा पवित्रता प्रति विशेष ध्यान दिने गर्छन् । निकै कडा नियमका साथ पूजाको तयारी गरिने यस चाडमा चोखो तथा शुद्धताको निकै ध्यान दिने गरिन्छ ।

कोरोना महामारीका कारण नदी तलामा छठ नमनाउन प्रशासन कार्यालयले दिएको निर्देशन बमोजिम अधिकांशले घरमै वा घर नजिकै जलाशयमा घाट बनाइ सजाएका छन् । नदी तलावमा मनाउनेहरुले पनि स्वास्थ्य सावधानी अपनाउने गरी तयारी गरेका छन् । यीनै छठ घाटहरुमा आज व्रतालुहरुले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिनेछन् । संसारलाई जीवन दिने भगवान भाष्कर (सूर्यदेव)लाई विधिपूर्वक यस पर्वमा पूजा गर्ने गरिन्छ । चार दिनसम्म मनाइने यो पर्वको आज तेश्रो तथा महत्वपूर्ण दिन सूर्य भक्तिमा लीन भएर पूजाआजा गर्दै साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिइने छ भने भोलि बिहान उदयमान सूर्यलाई दोश्रो अर्घ दिएपछि विधिपूर्वक छठ पर्व सकिनेछ ।

बिहिबार बेलुका माटोको चुल्होमा पकाएर तयार पारिएको खिर, रोटी, केरा तथा नुन बिनाको प्रसाद खाएका व्रतालुहरुको ३६ घण्टा लामो निर्जल र निराहार व्रत शुरु भइसकेको छ । हिजो बेलुका पूजा पश्चात खाएको प्रसादको भरमा रहेर व्रत बसेका व्रतालुहरुले अब भोलि बिहान सूर्यलाई अर्घ दिएपछि मात्र अन्न र जल ग्रहण गर्नेछन् ।लगातार ३६ घण्टासम्म निर्जल र निराहार भएर गरिने यो व्रत निकै आस्था र श्रद्धा पूर्वक मनाउने गरिन्छ । जलाशयको किनारमा पूजा गर्दै शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर घर फर्केपछि मात्र व्रत समाप्त हुनेछ ।तराईमा सबैभन्दा बढी श्रद्धा भक्तिका साथ मनाइने भएकाले यो पर्वलाई महापर्व पनि भनिन्छ । छठ व्रत गर्दा शरीरका रोगहरु नाश हुनुका साथै सन्तान प्राप्ती हुने र परिवारमा सुख शान्ति छाउने विश्वास छ ।

आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ । पूर्णरूपमा शाकाहारी हुने यो पर्वमा चामल र गहुँको पीठोबाट बनाईने ठकुवा, भुसुवा, फलफूल र कसारले विशेष महत्व राख्छन् । चार दिनसम्म चल्ने छठ पर्वको कार्तिक शुक्ल चतुर्थीबाट शुरु भई कार्तिक शुक्ल सप्तमीमा सम्पन्न हुने गर्दछ ।त्रेतायुगमा भगवान रामले लंका विजय गरे पछि रामराज्य स्थापनाको दिन कात्तिक शुक्ल षष्ठीका दिन भगवान राम र देवी सीताले व्रत बसेर सूर्य देवको पूजा गरेको र भोलिपल्ट सप्तमीका दिन पुनः बिहान उदाउँदै गरेको सूर्यलाई पूजा गरेर आशीर्वाद लिएकाले सोही दिनमा छठ पूजा गर्ने चलन चलेको पौराणिक मान्यता रहीआएको छ ।छठ व्रतको बारेमा विष्णु पुराण, भागवत पुराण, ब्राहृाावैवर्त पुराण, देवी पुराण लगायत प्राचीन धर्म ग्रन्थहरुमा समेत उल्लेख गरिएको छ ।

Categorized in राष्ट्रिय