आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै, भष्ट्राचार हुनै नदिनु सरकारको प्राथमिकता : प्रधानमन्त्री
Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २४, बुधबार
काठमाडौं – आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइदै छ ।
संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो ।
नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो । महासन्धि अनुसार नै नेपाललै सम्पत्ति शुद्धीकरण गठन गरेको छ । त्यति मात्रै होइन भ्रष्टाचार विरुद्ध लड्न संवैधानिक र कानुनको सर्वोच्चता अङ्गीकार गरिएको छ ।
भष्ट्राचार हुनै नदिनु सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले भष्ट्राचार हुनै नदिनु सरकारको प्राथमिकता भएको बताएका छन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसकाे अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले कोभिड–१९ को महामारीलाई पारित गरी यसको असर न्यूनीकरण गर्दै सामान्य लयमा फर्किन स्वच्छ, सुशासनयुक्त आचरण व्यवहार काम गर्नैपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्रीले भनेका छन्, ‘‘ठूलो वा सानो मात्राको वा ठूलो वा सानो पदको वा जोसुकैले भ्रष्टाचार गरे पनि त्यो अपराध नै हो र क्षम्य हुन सक्दैन । यसमा सरकार प्रस्ट छ । कुनै एक सूचकका आधारमा मात्रै भ्रष्टाचार घटेको वा बढेको निष्कर्षमा पुग्न पनि सकिँदैन, यसको बहुपक्षीय र सूक्ष्म अध्ययन गरिनु जरुरी हुन्छ ।’’
नेपालमा विगत दुई वर्षमा सुशासन कायम गर्न राम्रा प्रयास र अभ्यासको थालनी गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार गर्ने प्रवृत्ति धेरैै हदसम्म ओरालो लागेको बताएका छन् । प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘‘भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउनैपर्दछ, उच्च राजनीतिक तथा प्रशासनिक पदमा रहेका पदाधिकारी विरुद्ध पनि यस वर्ष मुद्दा चलेका छन्, भ्रष्टाचार विरुद्धको हाम्रो शून्य सहनशीलतालाई यसले प्रमाणित गर्दछ ।’’
भ्रष्टाचार नियन्त्रण गर्न सरकारी, निजी, गैरसरकारी, सामुदायिक तथा सञ्चार क्षेत्र लगायत सबैको सहयोग र सहकार्य आवश्यक पर्दछ भन्दै प्रधानमन्त्रीले हाम्रा सामाजिक मूल्य, मान्यता, संस्कार र व्यवहारमा परिवर्तन गर्नु पनि आवश्यक रहेको चर्चा पनि गर्नुभएको छ । यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त डा. गणेशराज जोशी र आयुक्त डा. सावित्री थापा गुरुङले संयुक्त रूपमा दिएकाे सन्देशमा भ्रष्टाचार नियन्त्रण गर्ने महìवपूर्ण र संवेदनशील कार्यमा थप ऊर्जा र क्रियाशील भएर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आयोगले ‘भ्रष्टाचार मुक्त र सदाचारयुक्त समाज निर्माण’ गर्ने नयाँ रणनीति अगाडि सारेको छ । सन्देशमा भनिएको छ, ‘‘आयोगले भ्रष्टाचार हुनै नदिने, भ्रष्टाचार विरुद्धको आफ्नो काम कारबाहीका आधारमा भ्रष्टाचारको निरोधका लागि सुझाव दिने, भ्रष्टाचारविरुद्ध जनचेतना बढाउने र भ्रष्टाचारविरुद्ध प्रमाण तथा तथ्यमा आधारित अनुसन्धान गर्नसक्ने दक्ष जनशक्ति विकास गर्ने रणनीति अवलम्बन गरेको छ ।’’ यसैबीच राष्ट्रसङ्घले कोभिड–१९ नियन्त्रण गर्न सबै दत्तचित्त भएर लाग्न आह्वान गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा आज डिसेम्बर ९ का दिन विश्वभर ‘सदाचारका साथ पुनरुत्थान’ भन्ने मूल सन्देशका साथ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । राष्ट्रसङ्घको महासभाले भ्रष्टाचार विरुद्ध संयुक्त रूपमा लड्न संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् २००३ मा पारित गर्यो । सन् २००५ देखि लागू भएको यस महासन्धिलाई नेपालले अनुमोदन पनि गरिसकेको छ ।
Categorized in राष्ट्रिय

