STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आज २५६४ औं बुद्धजयन्ती : साँझ ७ बजे दीप प्रज्वलनको आह्वान

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २५, बिहिबार

काठमाडौं – आज २५६४ औं बुद्धजयन्ती । विश्व शान्तिका अग्रदुत भगवान् गौतम बुद्धको जन्मजयन्ती । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको कारण आज हुने भनिएका सम्पूर्ण औपचारिक कार्यक्रमहरु रद्द भइसकेका छन् । लकडाउनको अवस्थामा घरमै बसेर बुद्धको वचन स्मरण गर्न एवं बेलुका दीप प्रज्वलन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक भिडियो सन्देश जारी गर्दै आह्वान गरेका छन् । बुद्धजयन्तीको अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘गौतम बुद्धको स्मृति र सम्मानमा उहाँका शान्तिका सन्देशहरु हामी सबै मिलेर सम्प्रेषण गरौं ।’ प्रधानमन्त्री ओलीले शान्तिको कामना गर्न र कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयंसेवीहरु, सहयोगीहरुप्रति ऐक्यबद्धता जनाउन आ–आफ्ना संस्था, घर र निवासहरुमा बिहीबार साँझ ७ बजे दीप प्रज्वलन गर्न अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीले रोल्पामा बम विष्फोटमा ज्यान गुमाएका बालबालिका र कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धासुमन अर्पण गर्न तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । राष्ट्रपतिको शुभकामना सन्देश यसैगरी, राष्ट्रपति विद्यादेवी भण्डारीले बौद्धदर्शनका प्रवत्र्तक तथा शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सके राष्ट्रिय एकता सुदृढ हुने बताएकी छिन् । २५६४औँ बुद्धजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेकी हुन् । साथै राष्ट्रपति भण्डारीले नेपालका आदिवासी किराँत समुदायको पवित्र एवं महान् उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण राई, लिम्बू, सुनुवार, याक्खालगायत सम्पूर्ण किराँतमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन् । यसैगरी, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि बुद्धजयन्ती र उभौली पर्वको शुभकामना व्यक्त गरेका छन् ।
Categorized in राष्ट्रिय