उत्तरी भारतमा शक्तिशाली भूकम्पकाे धक्का
Janjati Khabar – एजेन्सी | २०७७ फाल्गुण १, शनिबार
दिल्लीसमेत उत्तरी भारतमा भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ । शक्तिशाली भूकम्प गएपछि मानिसहरु घरबाहिर निस्किएका थिए ।
शुक्रबार राति १०ः३१ मा गएको भूकम्पका कारण दिल्ली, पञ्जाब, हरियाणा, राजस्थान, उत्तराखण्ड, उत्तर प्रदेश, जम्मु कश्मीरसमेत उत्तर भारतमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो । यद्यपी भारतका कतिपय सञ्चारमाध्यमले शुक्रबार राति १०ः३४ मा भूकम्प गएको उल्लेख गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार ६.३ रेक्टर स्केलको भूकम्पको केन्द्र ताजकिस्तानमा थियो । जमिनबाट करिब ७४ किलोमिटर तल भूकम्पको केन्द्र रहेको जनाइएको छ ।
भारतका अलावा पाकिस्तान तथा अफगानिस्तानमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।
पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले भूकम्पपश्चात अमृतसर तथा त्यसको आसपासको क्षेत्रमा हालसम्म हताहतीको खबर नभएको बताएका छन् ।
त्यस्तै जम्मू कश्मीरकी पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले सन् २००५ पछि यति शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको बताएका छन् ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि सबैको सुरक्षाका लागि प्रार्थना गरेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय

