उत्सवको रुपमा नेपाल संवत् मनाउन राष्ट्रपति भण्डारीबाट सबैमा आह्वान
Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक १९, शुक्रबार
१९ कार्तिक, काठमाडौं – नेपाल संवत् ११४२ प्रारम्भ भएको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् राष्ट्रको मौलिक संवत् भएको जनाउनुभएको छ । बिहीबार बिहान एक शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले सांस्कृतिक एवं भाषिक रूपमा विविधतायुक्त नेपाली समाजमा सहिष्णुता र एकताको प्रवद्र्धन गर्ने उत्सवको रूपमा नेपाल संवत मनाउन पनि सबैमा आह्वान पनि गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपाल संवत्को नववर्षको उपलक्ष्यमा देश तथा विदेशमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
चन्द्र मास गणना गरेर तय गरिने यस संवत्को नववर्ष कार्तिक शुक्ल पक्ष प्रतिपदाबाट सुरु हुने र सो दिन नेपाल संवत्को नवर्षको रुपमा मनाउने गर्दै आइरहेको छ ।
लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवतलाई प्रचलनमा ल्याएको मानिन्छ । यसबाट उनले कृषिलाई प्राथमिकता दिएको कुरा समेत स्पष्ट हुन्छ । राष्ट्रिय विभूति साख्वाको लोककल्याण एवं परोपकारी कार्यको स्मरण गर्दै निस्वार्थ भावले समाजको हित‚ उन्नति र प्रगतिका लागि क्रियाशील रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।
नेपाल संवतले सम्पूर्ण नेपालीमा सद्भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास लिइएको राष्ट्रपतिले शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।
Categorized in राष्ट्रिय


