उपत्यकामा अहिलेसम्मकै बढी ५९७ जना संक्रमित भेटिए, काठमाडौंमामात्रै ४८३ नयाँ संक्रमित
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २८, आइतबार
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ४८३ जनासहित उपत्यकामा थप ५९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंका ४८३ सहित भक्तपुरका ८१ र ललितपुरका ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सहित संक्रमितको संख्या ५३ हजार १२० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।
यसैगरी मन्त्रालयले जनाएअनुसार आइतबार मात्रै कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट हालसम्म ३४५ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार १५ हजार ११७ कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै मन्त्रालयका अनुसार होम आइसोलेसनमा ७३८७ रहेका छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ७३० जना रहेका छन् । क्वारेन्टाइनमा ६ हजार ५३६ जना रहेका छन् । मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा ९ हजार १६५ पीसीआर परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा ११ सय ७३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ । यस्तै १६९ जना आइसीयू र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
Categorized in राष्ट्रिय