उपत्यकामा थप ८ जनामा कोरोना पुष्टि, कुल संक्रमित ८६०५ पुग्याे
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ६, शनिबार
काठमाडौं - काठमाडौंमा पनि दिनहुँ कोरोना संक्रमितको संख्या थपिदै गएका छन् । दुई दिन यता उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएकोमा शनिवार थप ८ जनामा कोरोना पुष्टि भएको छ । देशभर कोरोना संक्रमितको संख्या थपिदै गएको बेलामा काठमाडौँ उपत्यकामा पनि संक्रमितको संख्या बढ्न थालेको छ।
पछिल्लो समय देशभरका अन्य क्षेत्रको तुलनामा काठमाडौँमा कम संक्रमित देखिए पनि पछिल्लो समय यो संख्या बढ्दै गएको हो।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँकी एक महिला र भक्तपुरका ७ जना महिलामा कोरोना पुष्टि भएको बताएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँकी एक महिला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भक्तपुरका ७ महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए।
शनिबार देशभर गरेर ३३१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ। संक्रमितमध्ये २२ जनाको निधन भइसकेको छ भने १५ सय ७८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
भक्तपुरका संक्रमित कुवेतबाट फर्किएका
भक्तपुर भनिएका कोरोना भाइरस संक्रमित हालै कुवेतबाट फर्किएका महिला भएको पुष्टि भएको छ।्
कुवेतबाट फर्किएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका ७ खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयको शनिबार भएको नियमित पत्रकार सम्मेलनमा भक्तपुर तोकिएर सातजनामा कोरोना संक्रमण भएको बताएको थियो ।
कास्की घर भएकी २३ वर्षीया, बारा र सुर्खेत निवासी २८ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। त्यस्तै नवलपरासी घर भएका २९ र ३३ वर्षीया, मोरङ निवासी ४१ र ४२ वर्षीया तथा झापा निवासी ३७ वर्षीया महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाइएकाे छ ।
यससँगै खरिपाटी क्वारेन्टाइनमा रहेका नौ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यसअघि खरिपाटी क्वारेन्टाइनमा रहेकै नवलपुरको गैंडाकोट निवासी २२ वर्षीया महिलामा कोरोना संक्रमण भएको बिहीबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो।
कुवेतबाट नेपाल आएकामध्ये प्रदेश १ र २ का एकसय नौ जनालाई भक्तपुरस्थित होल्डिङ सेन्टर पठाएको थियो। होल्डिङ सेन्टरमा स्वास्थ्य जाँच गर्दा अधिकांशको शरीरको तापक्रम बढी देखिएप्छि उनीहरुलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो।
ललितपुर पठाइएका ४५ जना कुवेतबाट फर्किएकामध्ये पनि अहिलेसम्म १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ।
Categorized in राष्ट्रिय