उपत्यकामा ९ जनासहित थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ११, बिहिबार
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा ४८ महिला र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै नेपालमा संक्रमितको कूल संख्या ११ हजार १६२ जना पुगेको जानकारी दिए ।
हालसम्म कोरोना जित्नेको संख्या २ हजार ६५० पुगेको छ । बितेको २४ घण्टामा १९ महिला र २९३ पुरुष गरी ३१२ जना संक्रमित निको भएको पनि गौतमले जानकारी दिए ।
काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र भक्तपुर जिल्लामा ४/४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।
काठमाडौंमा २ महिला, दुई पुरुष, भक्तपुरमा एक महिला, ३ पुरुष र ललितपुरमा एक जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
मृत्यु हुने २६ पुग्याे
नेपालमा कोरोना भाइरस (कोभिड-१९) का कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार राति एक र बिहीबार बिहान एक गरेर दुई जनाको मृत्यु भएको हो।
कोरोना संक्रमण भएर पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ५५ वर्षे पुरुषको बुधबार राति मृत्यु भएको हो।स्याङ्जाका ती संक्रमित मधुमेह र नियोनियाका पनि बिरामी थिए। उनलाई उपचारका लागि ८ गते पोखरा ल्याइएको थियो। उनलाई कोरोना संक्रमणको पुष्टि पनि त्यसै दिन भएको थियो। त्यसअघि उनी गाउँमा सामाजिक कार्यमा सहभागी भएको बताइएको छ। उनको भने ट्राभल हिस्ट्री छैन।
त्यसैगरी ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका चितवन स्थायी घर भएर ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ५० वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो।
मृतक ५० वर्षीय पुरुषको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो। नर्भिक अस्पतालमा उपचार गराइरहेका ति पुरुषमा कोरोना पोजिटिभ देखिएपछि पाटन अस्पताल ल्याइएको थियो।
Categorized in राष्ट्रिय