STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपसभामुखबाट राजीनामा कसैले पनि आफ्ना जरा र धरातल भुल्न हुँदैन– डा तुम्वाहाङ्फे

Janjati Khabar – जनजाति खबर | २०७६ माघ ६, सोमबार

उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले जननिर्वाचित संस्थालाई लामो समयसम्म अन्योलमा राख्न नहुने निष्कर्षका साथ आफूले मार्गप्रशस्त गरेको स्पष्ट गर्नुभयो । एउटा अप्रत्याशित र अस्वाभाविक परिस्थितिका कारण सार्वभौम जननिर्वाचित संस्था लामो समयदेखि सभामुखविहीन हुँदा जटिलता पैदा भएकाले यस्तो स्थिति कायम रहिरहनु हुन्न भन्ने निष्कर्षका साथ आफूले राजीनामा गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । आफूले यसअघि सभामुखविहीन अवस्था लामो समयसम्म रहनुहुन्न भनी पटकपटक सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्दै उहाँले अन्योलपूर्ण अवस्थामा उपसभामुख पद पनि रिक्त गरेर सदनलाई नेतृत्वविहीन राख्न उचित नहुने मान्यताका आधारमा सभामुख चयनको ठोस आधार सिर्जना भएपछि आफूले मार्गप्रशस्त गर्न लागेको हो भन्नुभयो । उहाँले भन्नुभयो, “समावेशी लोकतन्त्र हाम्रो संवैधानिक व्यवस्थाको महत्वपूर्ण विशेषता हो, संविधानको यो मर्म अक्षर या वचनबाट होइन, हाम्रा अभ्यास र आचरणबाट मात्रै कार्यान्वयन हुन सक्छ भन्ने मलाई लाग्छ ।” राज्यका उच्च ओहोदामा समाजका सबै अङ्गको प्रतिविम्ब झल्कन सके मात्रै वास्तविक अर्थमा लोकतन्त्र सुदृढ हुनसक्ने बताउँदै उहाँले यो यथार्थसँग संविधान निर्माणमा अगुवाइ गर्ने राजनीतिक दल र नेतृत्व वर्ग सहमत हुनुहुन्छ भन्नेमा आफू आशावादी रहेको भनाइ राख्नुभयो । उपसभामुखले भन्नुभयो, “मेरा यी धारणाहरु कुनै अस्वाभाविक महत्वाकाङ्क्षा या अनुचित आग्रहबाट प्रेरित थिएनन् भन्ने कुरामा म दृढ छु ।” उहाँले लोकतन्त्र र खुला समाजमा हामीले गर्ने हरेक निर्णय जनताको सूक्ष्म निगरानीमा रहेका हुन्छन् भन्ने स्पष्ट पार्दै तिनको औचित्यको परीक्षा पनि समयको कसीमा घोटिने बताउनुभयो । उहाँले निर्णय र सार्वजनिक जवाफदेहिताका बीचमा उचित सामञ्जस्यता हुनुपर्नेमा सबै सम्बन्धित पक्षले ध्यान पु¥याउनुपर्छ भन्ने आफूलाई लागेको बताउँदै भन्नुभयो, “दलबाट सिफारिस वा निर्वाचित भएर प्राप्त हुने जिम्मेवारी भए तापनि संवैधानिक ओहदामा बसुञ्जेल सम्बन्धित व्यक्ति दलसँगको सम्बन्धबाट अलग रहेको हुन्छ । उक्त ओहोदामा रहँदा ऊ दलको निर्देशनमा होइन, संवैधानिक र कानूनी प्रबन्धअनुसार निर्देशित भएर क्रियाशील हुन्छ । मैले पनि यसैअनुसार इमान्दारीका साथ कर्तव्य पूरा गर्ने प्रयास गरेको छु ।” उहाँले कोही कसैले पनि आफ्ना जरा र धरातल भुल्न नहुने तथा स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्नु हुँदैन भन्ने कुरामा पनि आफू सचेत रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “उपसभामुखका रुपमा विगत दुई वर्षसम्म माननीय सदस्यसँग बिताउन पाएको अवधि मेरो जीवनका अविस्मरणीय र सुखद् अवधिका रुपमा स्मृतिमा रहने छन् । एउटा महिला, त्यसमाथि पनि एकल अवस्थामा रहेको र जनजाति पृष्ठभूमिबाट आएको मजस्तो व्यक्तिले जनताको सार्वभौम अधिकार अभ्यास गर्ने यस सर्वोच्च र गरिमामय अङ्गको नेतृत्व गर्न पाएको अवसरलाई महत्वपूर्ण अवसर ठानेको छु ।” उहाँले त्यसको श्रेय हाम्रो लोकतान्त्रिक प्रणाली र राजनीतिक दललाई जाने उल्लेख गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक आजै अपराह्न ४ बजे बस्नेछ ।
Categorized in राष्ट्रिय