एक सातादेखि उठेन काठमाडौंकाे फाेहाेर
Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण ७, शनिबार
फागुन ७, काठमाडौं - काठमाडौं महानगरपालिकाले कुहिने फोहोरको आफैँ व्यवस्थापन गर्न महानगरवासीमा उर्दी जारी गरेको छ ।शनिबार सार्वजनिक सूचना नै जारी गरेर महानगरपालिकाले कुहिने फोहोरको आफैँ व्यवस्थापन गर्न भनेको हो ।
१ फागुनबाट काठमाडौंमा फोहोर उठ्न छाडेपछि चोकचोक दुर्गन्धित बन्न थालेका बेला महानगरले आफैँ व्यवस्थापन गर्न भन्दै उर्दी जारी गरेको हो । महानगरको वातावरण विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘हाललाई सम्पूर्ण उपत्यकावासीले आ–आफ्नो घर, पसल, उद्योग, व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्टयाई सकेसम्म कुहिने फोहोरलाई आफैँ व्यवस्थापन गर्न हुन अनुरोध गरिन्छ ।’
नकुहिने फोहोर पनि सडकमा जथाभावी नफाल्न र फोहोर लिन आउने गाडीमा राखेर पठाउन सूचनामा भनिएको छ । उपत्यकाको फोहोर नुवाकोटस्थित सिसडोल ल्याण्डफिल साइटमा व्यवस्थापन हुँदै आएको छ । तर,मडखु–तीनपिप्ले सडकखण्ड कालोपत्र हुनुपर्ने माग राख्दै स्थानीयले सडक अवरुद्ध गरेपछि १ फागुनदेखि फोहोर ढुवानीमा अवरोध भएको महानगरको भनाइ छ ।
उपत्यकाको काठमाडौं र ललितपुर महानगरसहित १८ वटै पालिकाको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । निजी र महानगरपालिका गरी दैनिक दुई सयभन्दा बढी टिपर–ट्रकले नुवाकोटको ककनी गाउँपालिका–२ को सिसडोल फोहोर लैजाने गर्छन् । दैनिक दुई सय ५० टन फोहोर फाल्न मिल्ने सिसडोलमा अहिले दैनिक एक सय ५० ट्रकले एक हजार टनभन्दा बढी फोहोर फालिरहेका छन् ।
तीन वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बन्चरेडाँडा ल्यान्डफिल साइट १६ वर्षसम्म पनि नबन्दा उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेको छ । उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले ०६२ जेठमा तीन वर्षभित्र बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो।


