'एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड' सफल पार्न चलचित्र क्षेत्रका अग्रजहरुसंग छलफल
Janjati Khabar – विजयरत्न असंबरे | २०७९ माघ २४, मंगलबार
नेपालको चलचित्र क्षेत्रका अग्रजहरुले मोफसलमा हुन लागेको लक्की फिल्मी अवार्डले कलाकारहरुको प्रोत्साहन तथा सिने क्षेत्रको प्रर्वद्धन हुने विश्वास व्यक्त गरेका छन् । 'एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड २०८०' को तयारीमा रहेको चितवनको लक्की मिडिया हाउसले कलाकार, समाजसेवी, व्यवसायीहरु संग सुझाव संकलन छलफल अभियान नै चलाएको छ ।
सुशिल कोइराला मेमोरियल फाउण्डेशनका सदस्य सचिव अतुल कोइराला, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, महासचिव चेतबहादुर सिंह ‘राजा’, वरिष्ठ गायक आनन्द कार्की सँग सुझाव संकलन गर्ने क्रममा छलफल गरेको छ ।
लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की 'लक्की'ले सिने क्षेत्रका अग्रज, समाजसेवी, व्यवसायीहरु सबै उत्साहित रहेको बताए । “हामीले फिल्मी अवार्डलाई भव्य र सभ्य बनाउन सुझाव संकलन तीव्र पारेका छौँ”, उनले भने, “सबै उत्साहित हुनुहुन्छ, सिने जगतमा चितवनको थप पहिचान कायम हुनेछ ।” उनले ३० विधामा अवार्ड वितरण हुने बताए । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक, छायाँकार, सम्पादक, साउण्ड एडिटर, गीतकार, पाश्र्व गायिक-गायिकालाई अवार्ड प्रदान गरिनेछ । उत्कृष्ट फिल्म, उत्कृष्ट कथा, उत्कृष्ट पटकथा, उत्कृष्ट संवाद लगायतका विधाहरुमा अवार्ड वितरण हुनेछ । अवार्ड वितरण कार्यक्रम आगामी असारमा चितवनमा हुनेछ र यसको लागि विशिष्ट व्यक्तित्वहरु रहने गरी एक निर्णायक मण्डल गठन गरीने कुरा आयोजक कार्की ले बताए ।
Categorized in सिनेमा

