STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एयरलाइन्सलाई बक्यौता बुझाउन प्राधिकरणको ताकेता

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २६, सोमबार

नेपाल नागरिक उड्डयन प्राधिकरणले वर्षौंदेखि करोडौँ बक्यौता नतिर्ने एयरलाइसलाई ३० दिनभित्र भुक्तानी गर्न ताकेता गरेको छ ।

प्राधिकणले आज सार्वजनिक सूचना जारी गर्दै उडान सेवा बन्द भएका एयरलाइन्सले प्राधिकरण र विमानस्थल कार्यालयलाई तिर्नुपर्ने सेवा शुल्क तथा रोयल्टी बुझाउन आग्रह गरेको हो । प्राधिकरणका अनुसार यसरी उडान सेवा बन्द भएका आन्तरिक उडानका ११ एयरलाइन्सले नौ करोड बक्यौता बुझाउन बाँकी छ ।

एयरलाइन्सले प्राधिकरणलाई बुझाउनुपर्ने रकम पटकपटक सूचना गर्दा पनि नबुझाएकाले पुनः सूचना जारी गर्दै बन्द भएका एयरलाइन्सका सञ्चालकलाई तत्काल बाँकी रकम भुक्तान गर्न निर्देशन दिएको हो ।

उनीहरूलाई सूचना प्रकाशित भएको मितिले ३० दिनभित्रमा रकम र नियमानुसार लाग्ने विलम्ब शुल्कसमेत बुझाउन भनिएको छ ।

यदि प्राधिकरणले निर्धारण गरेको रकम तिर्न नपर्ने कुनै प्रमाण भएमा सोसमेत पेस गर्न आग्रह गरिएको छ ।

तोकिएको समयमा पनि हिसाब मिलान वा रकम बुझाउन नआएमा सञ्चालकलाई कालो सूचीमा राखिने प्राधिकरणले चेतावनी दिएको छ ।

कालो सूचीमा परेका सञ्चालकले भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारबाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने प्राधिकरणले उल्लेख गरेको छ ।

सबैभन्दा धेरै नेकोन एयरको बक्यौता ४ करोड ७० लाख छ । त्यस्तै कस्मिक एयरको ३ करोड ४७ लाख बाँकी छ । त्यस्तै, शिवानी एयरको ५५ लाख ५१ हजार,  गोरखा एयरको २० लाख, कर्णाली एयरको १७ लाख ४६ हजार, माउन्टेन एयरको १७ लाख ४६ हजार, साङ्ग्रिला एयरको १५ लाख ३७ हजार, स्काइलाइन एयरको १५ लाख ५० हजार, एयर काष्ठमण्डपको ७ लाख ३८ हजार, नेपाल एयरवेजको ५ लाख ५० हजार र अल्पाइन एयरको ७२ हजार बक्यौता छ ।

हाल नेपालमा १० हेलिकाेप्टर कम्पनीसहित १९  वायु सेवा प्रदायक कम्पनीले आन्तरिक उडान भर्दै आएका छन् ।

Categorized in राष्ट्रिय