STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ऐतिहासिक महत्वका ढुङ्गेधारा ओझेलमा

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १६, सोमबार

के तपाईंलाई काठमाडौँको सुनधारामा एकनाशले निरन्तर पानी झरिरहेको थाहा छ त्यो पनि एउटा धारामा मात्र होइन, सुनधाराका सबै धारामा त्यतिकै फोर्सबाट पानी झरिरहेको हुन्छ । नेपाल भाषामा लुँहिटी भनिने यो धारामा २४सैँ घण्टा निरन्तर पानी झरिरहने भएकाले काठमाडौँवासी २०३० को दशकसम्म दुवै हातको अञ्जुली थापेर पानी पिउने, नुहाउने तथा लुगा धुने गरिन्थ्यो । हाल आएर यो कुरा उहिलेको कथा जस्तो भइसक्यो । लुँहिटी मात्र होइन, काठमाडौँको नजिकैको अर्को मरुहिटीमा पनि चारैतर्फको सबै धारामा पनि एकनाशले २४सैँ घण्टा निरन्तर पानी झरिरहेको हुन्थ्यो । त्यस्तै बालाजुस्थित २२ धारामा पनि ठूलो बेगले पानी झरिरहेको अवस्था थियो । त्यसबेलाको ल्होँहिटीको बेग सम्झिँदै बालाजुका रमेश सायमी भन्नुुहुन्छ, “झण्डै चारदशक अघिसम्म बालाजुको सबै धारामा २४सैँ घण्टा बेगका साथ पानी झर्ने भएकाले काठमाडौँका विभिन्न ठाउँबाट यहाँ नुहाउन र लुगाधुन आउनेको सङ्ख्या धेरै हुन्थ्यो । हिजोआज यस्ता ल्होँहिटीमा पानी झर्दैन । कतिपय ल्होँहिटीमाथि कालो ट्याङ्की राखेर पानी झारेको देख्न पाइन्छ । हजारौँ वर्षदेखि अस्तित्वमा रहेको लुँहिटी, वह हिटी तथा ल्वँहिटीका बारेमा आफ्नो गीतमा कवितामार्फत नेपाल भाषाका सुप्रसिद्ध जनकवि दुर्गालाल श्रेष्ठले लुबुँ बहबुँमा ढुङ्गेधाराको विषयमा यसरी बर्णन गर्नुभएको छ, “लुँहिटी, वहहिटी, ल्वँहिटी नं हिटी हे मखुला रु मन दुने तस्बीर दैन, भ्वँया तस्बीर माला दाइचा, बहेँला मजुला रु अर्थात् चाँदीको धारा त अस्तित्वमा छैन । तर सुनको धारा काठमाडौँ तथा ललितपुरमा अस्तित्वमा छ । ल्वँहिटी त टोलटोलमा अझै देख्न पाइन्छ ।” नेवारी कला र संस्कृतिले भरिपूर्ण काठमाडौँ उपत्यकामा जताततै पाइने ढुङ्गेधारा नेवार समुदायको मौलिक सम्पत्ति मात्र नभई विदेशीका लागि चिनाउने महत्वपूर्ण पहिचानको आधार पनि हो । काठमाडौँ उपत्यकाका ठाउँठाउँमा नेवार समुदायका अग्रजले प्राचीनकालदेखि निर्माण गरेर छाडेका ऐतिहासिक महत्वका ढुङ्गेधाराले कलात्मक तथा सांस्कृतिक दृष्टिले आफ्नो छुट्टै पहिचान तथा गरिमा बोकेको छ । हिजोआज तिर्खा लाग्ने उखरमाउलो गर्मीमा यस्ता ढुङ्गेधाराको सम्झना जो कसैलाई हुन्छ । पानीको अभाव झेलिएको अहिलेको अवस्थामा यसका विभिन्न स्रोतका विकल्पमध्ये एउटा उपयुक्त विकल्प ढुङ्गेधारा हो । चिसो र शीतल पानीको स्रोत ढुङ्गेधाराबाट झरेको पानी काठमाडौँका जनताले सयौँ वर्षदेखि निरन्तर उपभोग गर्दै आएका छन् । जमीनमुनि जलभण्डारमा सञ्चित पानी ढुङ्गेधारामार्फत चौबिसै घण्टा झर्ने गरी प्रवाह गर्ने व्यवस्था यसमा मिलाइएको हुन्छ । ढुङ्गेधारा हिजोआज मात्रै विकास भएको प्रणाली होइन । यसका पछाडिको इतिहास लिच्छविकालसम्म जोडिएका छन् । लिच्छवी राजा मानदेवका पालामा बनेको ढुङ्गेधारा अहिलेसम्मकै सबैभन्दा प्राचीन मानिन्छ । उत्कृष्ट कलाकौशलका रूपमा रहेका काठमाडौँं, ललितपुर तथा भक्तपुरका टोल टोलका यस्ता ढुङ्गेधाराको मुख्य विशेषता भनेको चौबिसै घण्टा पानी बगिरहनु हो । नेपाल भाषा र संस्कृतिसँग प्रत्यक्ष जोडिएको ल्वँहिटी, लुँहिटी, मरुहिटी, थँहिटी र क्वहिटी उपभोक्तामाझ लोकप्रिय छन् । काठमाडौँको लुँहिटीजस्ता धारा सुकेकामा सरकारको ध्यान नगएकामा गुनासो गर्दै अब त सङ्घीय र प्रदेश सरकारले यसको संरक्षण र विकासमा ध्यान दिनुपर्ने बताउनुहुन्छ, लगनका किरण ज्यापु । उहाँले भन्नुभयो, “नेवार बस्तीभित्रका ढुङ्गेधारा राष्ट्रिय सम्पत्ति हो । यसको संरक्षणका लागि सरकारले राष्ट्रिय नीति तयार गरेर छुट्टै बजेटको व्यवस्था गरी ल्वहँ हिटीको संरक्षणका लागि योजनाबद्ध कार्यक्रम ल्याउनुपर्छ ।” सिन्धुपाल्चोक निवासी बानेश्वरमा बस्दै आउनुभएका दुर्गाबहादुर लामाले पानीको स्रोतको विकल्प, ऐतिहासिक महत्व तथा नेवार समुदायको छुट्टै पहिचान जोडिएका कारण यसको संरक्षण गर्नुपर्छ भन्नेमा कुनै दुई मत नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तीव्र सामाजिक परिवर्तन एवं ७४ जिल्लाबाट मानिस ओइरिने क्रमबाट ऐतिहासिक महत्व बोकेका धेरैजसो ढुङ्गेधारा सुकेका छन्, जुन निकै दुःखद् छ । केही वर्षअघिसम्म मरुहिटीजस्ता प्रसिद्ध ल्वँहिटीबाट गैरनेवार समुदायले पनि पानी प्रयोग गर्दै आएका छन्, पानी अभावका बेला यी ढुङ्गेधाराले केही राहत भन्ने अवश्य दिएको थियो ।” हालै काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले काठमाडौँ उपत्यकाभित्रका १० वटा नगरपालिका क्षेत्रभित्र रहेका ढुङ्गेधारा तथा पोखरीको स्थलगत अध्ययन गरी तयार पारेको ‘काठमाडौँ उपत्यकाभित्रका ढुङ्गेधारा तथा पोखरीको लगत नक्साङ्कनसम्बन्धी’ पुस्तकमा हिजोको प्राचीन जीवन्तता, शैली, कला तथा परम्परा झल्किने ढुङ्गेधाराबाट पानी थाप्ने अवसर पाउने गरी ढुङ्गेधाराको विकास गर्नुपर्नेमा जोड दिएको छ । काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुरथिमि नगरपालिका, कीर्तिपुर नगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरि नगरपालिका, शङ्करपुर नगरपालिका, टोखा नगरपालिकाभित्र रहेका ढुङ्गेधारा र पोखरीको अध्ययन गरी यो पुस्तक तयार पारेको हो । महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले महालक्ष्मी नगरपालिकाभित्र १९ वटा ढुङ्गेधारा रहेकामा चार वटा पूर्णरूपमा लोप भइसकेको बताउँदै सात पोखरीमध्ये चार वटा मात्र अस्तित्वमा रहेको बताउनुभयो । पुस्तक तयारका लागि अनुसन्धानमा जुटेका पद्मसुन्दर जोशीका अनुसार नेपालमण्डलभित्र पोखरी, इनार तथा ढुङ्गेधाराको राम्रो सम्बन्ध रहेको बताउँदै काठमाडौँ, ललितपुर तथा भक्तपुरमा राजकुलो रहेको र राजकूलोमार्फत पानी ढुङ्गेधारामा आउने व्यवस्था गरिएको पाइन्छ । यस्ता राजकूलो काठमाडौँको बूढानीलकण्ठ, ललितपुरको टीका भैरव तथा भक्तपुरको बागेश्वरीमा रहेको छ । काठमाडौँ उपत्यकाको १० वटा नगरपालिकाभित्र ५७३ ढुङ्गेधारामध्ये स्थलगत अध्ययनका क्रममा ४७९ वटा मात्र भेटिएको पुस्तकमा उल्लेख गरिएको छ । ५२ वटा ढुङ्गेधारा मासिएको पाइएको पुस्तकमा उल्लेख छ । स्थलगतरुपमा खोजीका क्रममा ४२ वटा पत्ता नलागेको अवस्थामा छ । अनुसन्धानकर्तामा नेपाल भाषाको ज्ञानको कमी तथा स्थानीय व्यक्तिलेसमेत पुखु तथा धाराको नाम थाहा नहुने, हिटीको इतिहास तथा पानीको स्रोत थाहा नहुने स्थिति भएकाले अनुसन्धान गर्नेलाई पनि गाह्रो हुने गरिएको पुस्तकमा उल्लेख गरिएको छ ।
Categorized in राष्ट्रिय