ओलीकाे 'कदम' संवैधानिक ‘कू’ : शेखर काेइराला
Janjati Khabar – Janjati Khabar | २०७७ पौष ५, आइतबार
नेपाली कांग्रेसका नेता शेखर काेइरालाले संसद् विघटनकाे सिफारिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक ‘कू’ गरेको बताएका छन् । उनले आज बिहान संसद् विघटन गर्न राष्ट्रपतिसँग सिफारिस गरेपछि डा. कोइरालाले विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक ‘कू’ गरेको बताएका हुन् ।
कोइरालाले प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ धकेल्ने काम गरेको समेत बताए ।
विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध कांग्रेस सडक संघर्षमा आउने बताए । ‘प्रधानमन्त्री ओलीको कदम संवैधानिक ‘कू’ हो र यसविरुद्ध नेपाली कांग्रेसले संघर्ष गर्छ’, उनले भने । डा. कोइरालाले संविधानविपरीत प्रधानमन्त्रीबाट भएको सिफारिस राष्ट्रपतिले स्वीकार गर्न नहुने भन्दै राष्ट्रपतिको कमदपछि कांग्रेसले भावी रणनीति तय गर्ने बताए ।
डा. कोइरालाले लोकतान्त्रिक संविधानमाथिको प्रहारविरुद्ध तत्काल सडकबाट प्रतिरोध गर्नुपर्ने बताए । प्रधानमन्त्री ओली अधिनायकवादी शासकको अभ्यासमा जानकै लागि असंवैधानिक कदम चालेको भन्दै उनले यसलाई नरोक्ने हो भने संकटकाललगायत जुनसुकै हर्कत गर्न सक्ने सम्भावना रहेको बताए । उनले संसद् विघटनको सिफारिसका सन्दर्भमा सत्तारुढ दलका नेताहरू, प्रमुख प्रतिपक्ष दलका नेता, संविधानविद्, कानुनविद् सबैसँग छलफल गर्न र असंवैधानिक कदमलाई रोक्न राष्ट्रपतिलाई आग्रहसमेत गरे ।
Categorized in राजनीति

