STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओली निवासमा ओली, लामिछाने र लिङ्देनबीच भेटवार्ता

Janjati Khabar – Janjati Khabar | २०७९ माघ २०, शुक्रबार

काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। ओली निवास बालकोटमा शुक्रबार साँझ उनीहरूबीच दुई घन्टा बढी छलफल भएको हो।

गृह मन्त्रालय पाउनुपर्ने भन्दै रास्वपाले सरकार छाड्ने चेतावनी दिइरहेका बेला उनीहरूबीच छलफल भएको हो। स्रोतका अनुसार गठबन्धनभित्र कसरी बलियो भएर जाने भन्ने विषयमा उनीहरूबीच छलफल भएको छ। एमाले अध्यक्ष ओलीले भन्दासमेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय छाड्न तयार नभएपछि उनीहरू छलफलमा जुटेका हुन्। 

प्रधानमन्त्री प्रचण्डले लामिछानेको मुद्दा टुंगो नलागेसम्म धैर्यता गर्नुपर्ने र राष्ट्रपति निर्वाचनका विषयमा पनि राष्ट्रिय सहमति गर्नुपर्ने बताउँदै आएका छन्। जसका कारण ओली र लामिछाने असन्तुष्ट छन्। दुई दल निकट रहेका राप्रपा अध्यक्ष लिङ्देनसँग यिनै विषयमा छलफल गर्न बालकोट बोलाइएको स्रोतको दाबी छ। 

यसबीचमा गृह मन्त्रालयका लागि लामिछाने आफैंले पनि पटक-पटक प्रधानमन्त्री प्रचण्डलाई भेटेर दबाब दिएका छन्। उनले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनीसमेत दिएका छन्। बिहीबार रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्रीलाई दुई दिनको समय दिएको छ। उक्त समय भोलि सकिँदैछ। 

प्रधानमन्त्री प्रचण्डले पार्टी बैठकमा पनि तत्काल रवि लामिछानेलाई गृह मन्त्रालय दिन नसकिने ब्रिफिङ गरेका छन्। मुद्दा टुंगो नलागेसम्म रास्वपाले धैर्यता राख्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ। 

यता उच्च राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका ओलीले गृह मन्त्रालय रास्वपालाई दिन दबाब दिएका छन्। पूर्वसहमतिअनुसार गृह रास्वपाकै भागमा परेको भन्दै उनले गृह मन्त्रालय रास्वपालाई दिनुपर्ने बताउँदै आएका छन्।

नागरिकता मुद्दामा दोषी ठहर भएपछि सर्वोच्च अदालतले लामिछानेको सांसद र मन्त्री पद बर्खास्त गरेको थियो। त्यसको भोलिपल्टै प्रक्रिया पुर्‍याएर नागरिकता लिएका लामिछानेले गृह मन्त्रालय पाउनुपर्ने दबाब दिँदै आएका छन्। 

Categorized in राजनीति