कम्बोडियामा निराकारको मृत्यु, बेलैमा उद्धार नहुँदा मृत्युवरण : परिवार
Janjati Khabar – Janjati Khabar | २०७९ पौष १८, सोमबार
काठमाडौं - कम्बोडियास्थित ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा शुक्रबार भएको भीषण आगलागीमा मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का ४० वर्षीय निराकार पाण्डेको बेलैमा उद्धार नहुँदा मृत्युवरण गर्नुपरेको परिवारले गुनासो गरेका छन् ।
तीन महिनाअघि पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड गएका उनी घुमफिरकै क्रममा कम्बोडियाको सीमावर्ती सहर पोइपेट पुगेका थिए। शुक्रबार राति उनी बसेको होटलमा भीषण आगलागी भएको थियो । मृतकका बुबा एवम् विर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेले होटलको १२औँ तलाको कोठामा बास बसेको बेला दुःखद घटना भएको बताए।
बेलैमा उद्धार नहुँदा छोराले मृत्युवरण गर्नुपरेको उनले गुनासो गरे। बिहीबार राति साढे ११ बजेतिर होटलमा आगलागी सुरु भएको र शुक्रबार बिहान साढे ४ बजेपछि छोरा सँग सम्पर्क विच्छेद भएको उनले जानकारी दिए।
थाइल्यान्डको राजधानी बैंककस्थित नेपाली राजदूतावासले मृतकको शवको तस्बिर नेपालस्थित मृतकका आफन्तलाई पठाएर शवको सनाखत गरिसकेको छ । हाल कम्बोडियामै रहेको शवलाई नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालय र बैंककस्थित नेपाली राजदूतावासमार्फत कूटनीतिक पहल भइरहेको मृतकका बुबा अग्निले जानकारी दिए।
पारिवारिक स्रोतका अनुसार गत कात्तिक २१ गते निराकार घुमफिरका लागि थाइल्यान्ड गएका थिए । उनी केही दिनमै नेपाल फर्किने तयारी थियो । यही पुस १५ गते बिहान आगलागी भइरहेको होटलको १२औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा मृत्यु भएको थियो ।
आगलागी सुरु भइसकेपछि करिब चार घण्टाको अवधिमा उहाँले आफू आगलागीका कारण अप्ठेरोमा फसेको भन्दै काठमाडौँस्थित आमा र झापास्थित बुबालाई समेत भिडियो फोन गरेर बाँच्नका लागि १२औँ तलामाथिको झ्यालबाट हाम फाल्नुपर्ने अवस्थामा पुगेको जानकारी दिएका थिए। परिवारले उनलाई उद्धारको पर्खाइमा धैर्य गर्न बारम्बार सुझाव दिएको उनका भाइ निश्चल पाण्डेले बताए।
घटनामा उद्धारको प्रयास नभएपछि बाँच्नका लागि हामफाल्दा निराकारको ज्यान गएको पाण्डेले बताए। घटना भएका बेला मृतकका बुबा अग्नि र साइलो भाइ झापाको विर्तामोडस्थित निवासमा थिए भने आमा र कान्छो भाइ काठमाडौँस्थित निवासमा थिए।
“बास बसेको होटलमा आगलागी भयो, धुवाँ फैलिँदै गइरहेको छ भन्दै भिडियो कल गरेको थियो,” मृतकका बुबा अग्निले शुक्रबार रातिको अवस्थाबारे जानकारी दिँदै भने, “राति करिब चार घण्टासम्म फोन र भिडियोमा सम्पर्क भइरहेको थियो, हामीले उद्धार गरेर बचाउन आउँछन्, धैर्य गर् छोरा भनेर ढाडस दिइरह्यौँ । तर साढे ४ बजेदेखि फोन सम्पर्क टुट्यो ।”
कम्बोडियामा रहेका नेपाली र बैंककस्थित राजदूतावासका अधिकारीहरुले आगलागीबाट बाँच्नका लागि होटलको १२ तलाबाट हामफाल्दा चोटपटक लागेर मृत्यु भएको जानकारी दिएको उनले बताए।
Categorized in अपराध-दुर्घटना

