करदातालाई जागरुक बनाउने सडक नाटक ‘आनसुकी घरबेटी बा’
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ बैशाख ४, शनिबार
काठमाडौँ महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन ‘सडक नाटक’ अभियान सुरु गरेको छ । पहिलो चरणमा काठमाडौँ क्षेत्र भित्रका १० स्थानमा सडक नाटक देखाउने काठमाडौँ महानगरपालिका राजस्व विभागका प्रमुख डाक्टर शिवराज अधिकारीले जानकारी दिनुभयो ।
करदातालाई दबाब दिएर होइन कर तिर्नु नागरिक दायित्व हो र करमा आनासुकीको पनि महत्व हुन्छ भन्ने सकारात्मक सन्देशसहित आनासुकी घरबेटी बा ‘सडक नाटक’ सुरु गरेको कुरा राजस्व विभागका प्रमुख अधिकारीले भन्नुभयो ।
उहाँले कोभिडका कारण चालु आर्थिक वर्षमा राजश्व संकलनको प्रक्षेपण नै कम गरेको भन्दै प्रक्षेपण अनुरुप कर संकलन गर्ने उदेश्यले यस्तो अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।
विभागका प्रमुख अधिकारीले करदातालाई जागरुक बनाउन काठमाडौँ महानगरपालिकाले इतिहासमै पहिलो पटक ‘सडक नाटक’ अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।
करीब २० मिनेटको नाटकमा घरधनीलाई बहाल नतिरी भाग्ने भाडाको घर वा कोठामा बस्नेलाई खोजी भाडा उठाउन हिंडेको घरबेटी जसले महानगरलाई कर नतिरेका कारण आफैँ कानुनको परिबन्दमा परेको कथा नाटकमा देखाइएको अधिकारीले जानकारी दिनुभयो ।
उहाँले कोभिडका कारण यो वर्ष व्यवसाय करमा २० प्रतिशत र होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्वन्धित क्षेत्रलाई ५० प्रतिशत छुट दिएको जानकारी दिनुभयो भने होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्वन्धित क्षेत्रलाई असारसम्म नै छुट दिएको कुरा उहाँले भन्नुभयो र सम्पत्ति करमा १० प्रतिशत छुट दिएको चाहीं चैत मसान्तसम्म मात्रै तथा सम्पत्ति करमा पनि होटललाई असारसम्म ७५ प्रतिशत छुट दिएको कुरा उहाँले बताउनु भयो ।
उहाँले बहाल करमा कोभिडका बेला एक महिना घरभाडा छुट दिएका घरधनीलाई असारसम्म करमा १० प्रतिशत छुट दिएको पनि जानकारी दिनुभयो ।
Categorized in उपत्यका

