STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कला–संस्कृतिको प्रचार गर्न पोर्चुगलमा मेलाको आयोजना

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २८, मंगलबार

प्रवासमा रहेर पनि बाग्लुङ समाज पोर्चुगलले आफ्नो कला संस्कृतिको जगेर्ना तथा प्रचार गर्दै आइरहेको छ । हरेक वर्ष विशेष मेलाको आयोजना गर्दै समाजले आफ्नो कला, संस्कृतिको जगेर्ना गर्दै आइरहेको हो । यस वर्ष पनि चैतेदशैँको अवसर पारेर समाजले बागलुङको कला, संस्कृतिको प्रदर्शनका साथै भलिबल प्रतियोगिताको समेत आयोजना गरिनेको समाजका अध्यक्ष प्रेम खड्काले बताउनुभयो । उहाँका अनुसार विदेशी र नेपाली समुदायलाई नेपाली लोकगीतमा छमछमी नचाइनेछ । “नेपाली कला, संस्कृति र परम्परालाई विदेशी भूमिमा उजागर गर्न लागेका छौँ”, उहाँले भन्नुभयो, “यस्ता कार्यक्रमले नेपाल सरकारले आयोजना गरेको पर्यटन वर्षलाई सघाउनेछ ।” कार्यक्रमलाई सफल पार्न मूल व्यवस्थापन समितिसहित सात अन्य उपसमितिसमेत निर्माण गरिएको समाजका अध्यक्ष खड्का बताउनुहुन्छ । उहाँका अनुसार कार्यक्रम भव्यतापूर्वक सम्पन्न गर्न आर्थिक व्यवस्थापनको संयोजकमा समाजका उपाध्यक्ष ओमबहादुर कार्की र सहसंंयोजकमा महासचिव विक्रम गौतमलाई अघि सारिएको छ । यस्तै सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिको संयोजकमा समाजका सचिव किरणदीप, खेल व्यवस्थापन उपसमितिको संयोजकमा उपाध्यक्ष हरि मगर, अतिथि सत्कार उपसमितिको संयोजकमा उपाध्यक्ष ज्ञानु गौतम, प्रचारप्रसार उपसमिति संयोजकमा फुर्वान रायमाझी, मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा विमल गौतम र स्वयंसेवक परिचालन उपसमिति संयोजकमा सुमन अखेली रहनुभएको छ । मेलामा स्थानीय नेपाली कलाकारको पनि प्रस्तुति रहने मेलाका संयोजकसमेत रहनुभएका खड्काको भनाइ छ । उहाँले भलिबल खेलमा प्रथम हुनेलाई एक हजार ६०० यूरो र द्वितीय हुनेलाई एक हजार ५० यूरो पुरस्कार राशि राखिएको जानकारी दिनुभयो । यस्तै लोकगीत प्रतियोगितामा प्रथम हुने समूहलाई ५०० यूरो र द्वितीय हुने समूहलाई ३०० यूरो पुरस्कार प्रदान गर्ने समाजले घोषणा गरेको छ । मेला आगामी मार्च १५ तारिखमा आयोजना गरिने भएको छ ।
Categorized in राष्ट्रिय