काठमाडौंका सम्पर्ण तार भूमिगत गरिने
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २५, आइतबार
काठमाडौं - अब काठमाडौं जिल्लाको सम्पर्ण शहरी भू-भाग समेटिने गरी तार भूमिगत गरिने भएको छ । हाल दुई वटा मात्रै वितरण केन्द्र अन्तरगतको क्षेत्रमा तार भूमिगत गर्ने काम भइरहे पनि अब काठमाडौंको सबै क्षेत्रमा तार भूमिगत गर्न ठेक्का लगाइँदैछ ।
नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौंमा बाँकी ५ वटा वितरण केन्द्रअन्तरगत तार भूमिगत गर्न भारतको एक कम्पनीलाई ठेक्का दिने आशयको सूचना प्रकाशित गरिसकेको छ । सार्वजनिक खरिदको प्रतिस्पर्धामा सबैभन्दा कम रकम कबोल गरेको भारतको एल एन्ड टी कन्स्ट्रक्सनलाई ठेक्का दिन लागिएको हो ।
यो कम्पनीले काठमाडौंका महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र बाहेकका क्षेत्रमा तार भूमिगत गर्नेछ । कीर्तिपुर, कुलेश्वर, बानेश्वर, बालाजु र जोरपाटी वितरण केन्द्र अन्तरगगतका क्षेत्रमा एलएन्डटीले तार जमिनमुनि बिछ्याउने ठेक्का पाउने निर्देशनालयले जनाएको छ । करिब ५ अर्ब ४० करोडको लागतमा यो काम सम्पन्न हुनेछ ।
यो कामका लागि केईआई इन्डिया र टेबा कर्पोरेसनले पनि बोलपत्र हालेको थियो । तर, उनीहरुभन्दा कम कबोल गर्ने एलएन्टीले यो कामको लागि ठेक्का पाउन लागेको हो ।
प्राधिकरणले पहिलो चरण अन्तरगतको दुई किलोमिटर सडक क्षेत्रमा तार बिछ्याउने काम गरिसकेको छ । यसमा तारको लम्बाइका हिसाबले करिब २० किलोमिटर बराबर हो ।
यो परियोजनाको फागुन ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । पहिलो चरणको काम सन् २०२१ अक्टोबरसम्म सक्नेगरी भारतको केईआई कम्पनीसँग ठेक्का सम्झौता भएको छ । पहिलो चरणमा तोकिएको क्षेत्रमा तार बिछ्याउन सात अर्ब खर्च गरिँदैछ ।
प्राधिकरणको रत्नपार्क र महाराजगञ्ज विद्युत् वितरण केन्ऽअन्तर्गतका क्षेत्रमा हुन लागेको यो कामलाई पहिलो चरणको आयोजना भनिएको छ । महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत बालुवाटार, बुढानीलकण्ठ, टोखा, गोंगबु, महाराजगञ्जलगायतका क्षेत्रमा तार भूमिगत गरिँदैछ । रत्नपार्क वितरण केन्द्रअन्तर्गतका रत्नपार्क, न्युरोड, अनामनगर, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, एयरपोर्ट, चाबहिल, जोरपाटी क्षेत्रमा पनि तार जमिनमुनि बिछ्याइनेछ ।
आयोजनाअन्तर्गत ११ हजार भोल्टेजको करिब चार सय ५० किलोमिटर र चार सय भोल्टेजको करिब आठ सय किलोमिटर तार भूमिगत गरिनेछ । यसै क्षेत्रमा करिब चार सय ५० किलोमिटर अप्टिकल फाइबर भूमिगत बिछ्याइनेछ । वितरण प्रणालीलाई स्वचालित बनाउन फिल्ड रिमोर्ट टर्मिनल युनिट पनि जोडिँदैछ । त्यसलाई नियन्त्रण गर्न स्युचाटारमा वितरण नियन्त्रण कक्ष पनि बनाइनेछ । यो प्रणाली जडान भएपछि विद्युत् वितरणको काम अझ बढी प्रभावकारी र सुरक्षित हुने अपेक्षा छ ।
Categorized in उपत्यका