काठमाडौंमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गरौँ : प्रदेश सांसद शाक्य
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १७, बुधबार
विजयरत्न असंबरे –
बागमती प्रदेशका प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्यले काठमाडौंमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने बताउनुभएको छ । उहाँले अहिलेको अवस्था हेर्ने हो भने संक्रमण फैलिएको स्थान र क्षेत्रलाई हेरेर स्वास्थ्य संकटकाल घोषणा गर्नु उपयुक्त देखिन्छ भन्नुभएको छ भने यसको लागि नागरिक तहबाट पनि सहयोगको आवश्यक रहेको कुरा उल्लेख गर्नु भएको छ । १४ दिन देखि २१ दिनसम्मको स्वास्थ्य संकटकाल घोषणा गरी ‘पव्लिक मोविलिटी’ पूर्ण रुपमा नियन्त्रण गर्न सकिने कुरा बताउँदै उहाँले संकटकाल घोषणा गर्नु दुई तीन दिन अघि नै सार्वजनिक सूचना व्यापक मात्रामा दिएर जनतालाई घर भित्रै १४ दिन बस्नका लागि चाहिने आवश्यक बस्तुहरु व्यवस्थापन गर्न लगाउनु पर्छ भन्ने राय व्यक्त गर्नु भएको छ । उहाँले संकटकालको समय अहिलेको लकडाउन जस्तो खुकुलो हुनु नहुने पनि बताउनु भएको छ । सांसद शाक्यका अनुसार त्यस्तो बेलामा दिनदिनै कमाएर खानु पर्ने समाजका अति न्यूनवर्गलाई १४ दिन घरभित्रै बस्ने बातावरण बनाउन स्थानीयलाई स्थानीय सरकारले १४ दिनका लागि आवश्यक सामाग्री राहत स्वरुप उपलब्ध गराउनुपर्छ । दैनिक कमाएर खानु पर्नेका लागि संघीय र प्रदेश सरकारले उक्त अवधिका लागि राहतको व्यवस्था गर्नुपर्छ । यसो भयो भने ती क्षेत्रहरुमा कोभिड–१९ को भाईरस न्यून हुनजान्छ । समुदायमा संक्रमण फैलिन पाउँदैन । उहाँले १४ दिनदेखि २१ दिनसम्मको संकटालपछि केही खुकुलो लकडाउन गर्न पनि सुझाव दिनुभएको छ । ‘त्यस्तो बेलामा दुई चार घण्टा सवै मापदण्ड पालना गर्न लगाएर अत्यावश्यक कार्यहरुको लागि खुकुलो गर्नुपर्छ । त्यो अवधिमा पनि स्वयं सेवक तथा समुदायका व्यक्तिहरुले चनाखो भई संक्रमण अवस्थालाई ध्यान दिएर निगरानी बढाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘स्थिति विस्तारै सामान्य गर्ने तर्फ गएपछि सहज रुपमा अघि बढ्न सकिन्छ ।’ उहाँले त्यो अवधीमा कोरोना संक्रमण हुनबाट समुदायलाई जोगाउन कन्टयाक टे«सिङलाई सुक्ष्म रुपमा लैजानु पर्ने सुझाव पनि दिनुभएको छ । ‘त्यसका लागि आवश्यक मात्रामा प्रत्येक स्थानीय तहले स्वयसेवक दस्ता बनाएर अघि बढ्नुपर्छ । त्यसका लागि स्थानीय समुदायका व्यक्ति, संघ–संस्था, अवकासप्राप्त शिक्षक, अवकास प्राप्त सुरक्षाकर्मीलगायतलाई पनि परिचालित गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘यो महामारी हो । यस्तो बेलामा संघ, प्रदेश वा स्थानीय सरकार एक्लैको प्रयासले केही पनि हुँदैन । सबैले मिलेर यो अभियानमा लाग्यो भने मात्रा सफल हुन्छ । अनि मात्र सहि कन्टयाक ट्रेसिङ हुन्छ र संक्रमण पनि समुदायमा फैलिने अवसर प्राप्त गर्दैन । उहाँले आइसोलेसन र क्वारेन्टीन निर्माण गर्दा सबै भन्दा पहिला स्वास्थ्य मापदण्डलाई ख्याल गर्नुपर्ने बताउनु भएको छ । होडबाजीका लागि र सस्तो लोकप्रियताका नाममा जथाभावी आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्दै जाँदा त्यसले झन खतरा निम्त्याउने उहाँको भनाई छ । उहाँले कोभिडको सक्रमण फैलिन नदिन विभिन्न सूचनाहरु मात्र होइन कोभिड भएकाहरुलाई समेत प्रोत्साहित गर्ने खालका सामाजिक चेतनामूलक सूचनाहरु व्यापक रुपमा प्रचार गर्नुपर्नेलगायतका पनि सुझाव दिनुभएको छ । Categorized in उपत्यका


