STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं र ललितपुर क्षेत्रभित्र कर्फ्यु

Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २४, मंगलबार

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ ।

आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

हिजो जेनजी युवाको प्रदर्शनपछि लगाइएको कर्फ्यु अवधि आज बिहान ५ बजेबाट सकिएको थियो । त्यसपछि आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु लगाइएको हो ।

प्रजिअ रिजालका अनुसार काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको हो ।

कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक अन्यलाई आउजाउ गर्न, सभा जुलुस गर्न वा कुनै पनि प्रकारको प्रदर्शन गर्न रोक लगाइएको छ ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध युवाहरुले हिजो काठमाडौं प्रदर्शन गर्दा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको थियो ।

ललितपुरमा बिहान ७ बजेदेखि मध्यरातिसम्म कर्फ्यू आदेश जारी

यसैगरी। ललितपुर जिल्ला प्रशासन ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरिइएको छ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मंगलबार बिहान ७ देखि राति १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेका हुन्।

कर्फ्यू आदेशअनुसार ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चारकिल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ।

कर्फ्यू आदेश जारी भएका क्षेत्र

भैँसेपाटी क्षेत्र (वडा नं ४, १८ र २५) पूर्वमा भैँसेपाटीबाट बुङ्गमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा गायत्री पेट्रोलपम्पभन्दा तलको विष्णुदेवी मन्दिर, दक्षिणमा इटनी जाने ओह्रालोसम्म।

सानेपा क्षेत्र (वडा नं २०) पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिरसम्मको पक्की सडक, पश्चिममा बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरमा बल्खु पुलदेखि सानेपा चोकसम्मको चक्रपथ सर्भिस लेन, दक्षिणमा इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडकसम्म।

च्यासल क्षेत्र (वडा नं ९) पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रङ्गशाला, उत्तरमा मनोहरा खोला, दक्षिणमा मल पोखरी जाने बाटोसम्म।

प्रमुख जिल्ला अधिकारी घिमिरेले शान्ति, सुरक्षा कायम गर्न र सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न कर्फ्यू आदेश जारी गरिएको जनाएका छन्।

Categorized in उपत्यका