काठमाण्डौं महानगरपालिकाका सम्पदा निर्माण र पुर्ननिर्माण तिब्र गतिमा
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ३१, बुधबार
विजयरत्न असंबरे
कला, संस्कृति र सम्पदाको संरक्षण र संर्वद्धनमा काठमाडौँ महानगरपालिका जनप्रतिनिधिबीच पनि एकमतभई अगाडि बढ्न थालेका छन् । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा ९०भन्दा बढी शीर्षकमा सम्पदा निर्माण–पुर्ननिर्माणलगायतका लागि बजेट विनियोजन गरेको छ । काठमाडौँ महानगरपालिकाले ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण पोखरी, मन्दिर, ढुंगेधारा, बहाःबही लगायतका सांस्कृतिक सम्पदाको संरक्षण र संर्वद्धनलाई प्राथमिकतामा राखेको छ । यसले महानगरपालिकाले सम्पदा निर्माण–पुर्ननिर्माणलाई प्राथमिकतामा राखेको संकेत गर्छ । आर्थिक वर्ष २०७७/०७८ का लागि महानरपालिकाले अघि सारेका कला, संस्कृति र सम्पदाको संरक्षण र संर्वद्धन शीर्षकका योजना २० लाखदेखि २ करोडसम्मका छन् । २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त काठमाडौँ महानगरपालिकाको वडा–२२ मा अवस्थित नासःद्यः (नाट्यश्वर) को द्यःछेँ (भगवानको घर) पुनर्निर्माणका लागि पनि काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । नासःद्यः (नाट्यश्वर) को द्यःछेँ पुनर्निर्माणका लागि केही दिन अघि गरिएको क्षमापुजा कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) दुबै जना उपस्थित हुनुभएको थियो । उपप्रमुख खड्गीले थुपै्र सम्पदा पुनर्निर्माणका काम सूचारु रहेको पनि जानकारी दिनुभयो । क्षतिग्रस्त अवस्थाको मन्दिरलाई पुर्ननिर्माण गर्न त्यहाँ रहेका सामान सार्नु पर्ने र द्यःछेँ समेत भत्काउनु पर्ने भएकाले त्यसका लागि क्षमापूजा गर्नु पर्ने परम्परा अनुसार उक्त पूजा गरी पुर्ननिर्माणको काम अघि बढाएको वटु गुठीका अध्यक्ष शान्तराज महर्जनले जानकारी दिनुभयो । पुरात्वात्विक तथा अभिलेखको संरक्षण गर्ने काम नाट्यश्वर गुठीले गर्दै आएको छ । ‘काठमाडौँ महानगरपालिकाले यो मन्दिरको पुर्ननिर्माणका लागि लाग्ने सम्पूर्ण आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ,’ गुठीका अध्यक्ष महर्जनले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यज्युले गुठीले संरक्षण गरिरहेको गुठीघरमा रहेका पुरात्वात्विक महत्वका र अभिलेखको संरक्षण गर्न हामीलाई आग्रह गर्नुभएको छ ।’ क्षमापुजा कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्य, संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्य, उपप्रमुख खड्की, वडाध्यक्ष चिनकाजी महर्जन, गुठीका सदस्यलगायतको उपस्थिति थियो । मन्दिर आगामी आर्थिक वर्षको असोज मसान्तसम्ममा पुर्ननिर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । नासःद्यः पुर्ननिर्माणका लागि करीब १ करोड २५ लाख लाग्ने अनुमान गरिएको छ । चालु आबमा निर्माण/पुर्ननिर्माण सम्पन्न सम्पदा काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा कीर्तिपुण्य महाविहार दुगुद्यः, दुर्गा विनायक मन्दिर, मुगःद्यः, वलाछेँ त्वाःछेँ, स्वयम्भू स्तुप भजनघर लगायतका पुनःनिर्माण सम्पन्न गरिसकेको छ । त्यसैगरी सत्यनारायण मन्दिर, लयाश्वर मन्दिर, दीप्याखं (देवीनाच) द्यँःछेँ, कोटेश्वर महादेवस्थानमा भगवती मन्दिर, जनबहाः दिगीछेँ, किलाघः त्वाःछेँ, न्हय्मू त्वाःछें, वटु भद्रकाली मन्दिर, भगवान बहाल, गोरखनाथ मन्दिर परिसर, पञ्चेधारा निर्माणको कामलाई पनि पूर्णता दिएको छ । टेबहालस्थित क्वाःपाःद्यःछेँ, क्वहिटी सत्तल तथा बहाल, मणीसंघ महाविहार, परम्परागत लाय्कूसाः गुठी भवन, नाट्येश्वरी गुठी भवन, नित्यनाथ गुठी भवन आदिको पुनःनिर्माण कार्य अघि बढिरहेको महानगरपालिकाले जानकारी दिएको छ । परम्परागत बाजा सिकाउने गुरुलाई सम्मान गर्ने, ऐतिहासिक सोह्रखुट्टे पाटी पुनस्र्थापना गर्ने जस्ता कार्य सम्पन्न हुने चरणमा रहेका छन् । विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीमा गुरुयोजना अन्तर्गत नेपाल बज्रयान महाबिहारमा मौलिक परम्परागत प्रवेशद्वार, झ्याल तथा टुँडाल निर्माणको लागि नेपाल परम्परागत बौद्ध धर्म संघलाई, धम्महल भवन निर्माणको लागि अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र बुद्धनगरलाई र भवन निर्माणको लागि बागबजारस्थित बुद्धबिहारलाई आर्थिक सहयोग उपलब्ध गराउने जस्ता कार्य पनि महानगरले गरेको छ । Categorized in उपत्यका


