कार्तिक १० गते कीर्तिपुरको लायकूमा सांगितिक धमाका : प्रिजोल नेपाली र सरर कन्सर्टको रौनकता
Janjati Khabar – Lalendra Shakya | २०८१ कार्तिक ७, बुधबार
कीर्तिपुर/“गाइने” शब्द आफैमा निश्चल एवं चोखो शब्द हुन् । माता सरस्वतीको पुजारीको रुपमा लिन सकिने “गाइने” नेपाली संगीत क्षेत्रका ज्वलन्त एवं जीवन्त सांगितिक इतिहास भने पनि विल्कुलै कतै फरक नपर्ला । वास्तवमै भन्नु पर्दा “गाइने”को पर्यायवाची नै संगीत हो ।
कीर्तिपुर नगर क्षेत्रको सांगितिक इतिहासको कुरो गर्नु पर्दा, ‘सारंगी घराना’को चर्चा गर्नु पर्दा, कान्छा मगरको नाम लिनै पर्छ, उही कान्छा मगर, पहिले कीर्तिपुरको पर्यटकीय क्षेत्रमा सारंगी रेटी रेटी, उक्त सारंगीको धूनमा विदेशी पर्यटकहरुलाई मन्त्रमुग्ध पारी सारंगी बाजाको व्यवसाय गर्नु हुन्थ्यो ।
उही कान्छा मगरका छोरा रामशरण नेपालीको नाम पनि जोडिन आउँछ । नेपाली संगीत इतिहासमा रामशरण नेपाली ‘लोक सम्राट’को रुपमा स्थापित हुन सफल हुनुभो । सयौं नेपाली लोकभाकालाई जीवन्तता दिई नेपाली गीत संगीत जगेर्नामा अटुलनीय योगदान दिई जानुभो रामशरण नेपाली ।
यस्तै, कान्छा मगरकै छोराहरु यानिकि, रामशरण नेपालीका भाईहरु हरिशरण नेपाली, भिभा नेपाली इत्यादी सांगितिक माहोलमा तरंगित हुन सफल भइयो भने हालसम्म पनि उहाँहरु कोही तबलाबादक, कोही सारंगीबादकको रुपमा परिचित हुनुहुन्छ भने रामशरण नेपालीकै बहिनी शान्ति नेपाली पनि हाल संगीत क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

यही क्रममा रामशरण नेपालीका छोरा श्याम नेपालीको नाम नसुन्ने संगीतप्रेमीहरु सायदै नहोला । सारंगी, भ्वायलिन इत्यादी बाजा बजाउन निख्खर व्यक्ति श्याम नेपालीले पनि नेपाली संगीत जगतमा विभिन्न लोकसंगीत जगेर्ना गर्न योगदान दिँदै आइरहनु भएको छ भने उहाँ हाल अमेरिकाको एक युनिभर्सिटीमा सारंगी संगीत प्रशिक्षकको रुपमा कार्यरत हुनु हुन्छ ।
‘सारंगी घराना’कै कुरो आउँदा, हरिशरण नेपालीका छोरा किरण नेपाली ‘कुटुम्ब ब्याण्ड’का सारंगी एवं गितारवादक हुन् भने हरिशरण नेपालीकै बुहारी अस्मिता परियार गायिकाको रुपमा चीरपरिचित छिन् । यस्तै, भिभा नेपालीका छोरा विश्व नेपाली चर्चित गायकको रुपमा संगीत आकाशमा समर्पित हुनुहुन्छ ।
अब कुरो आयो सारंगी मेष्ट्रो श्याम नेपालीको । श्याम नेपालीका दुई छोराहरु प्रिन्स नेपाली र प्रिजोल नेपाली हालका नयाँ पुस्ताका संगीत हस्तीको रुपमा लिन सकिन्छ । प्रिन्स नेपाली हाल विभिन्न सांगितिक कार्यक्रम कन्सर्टहरुमा आफ्नो सांगितिक प्रतिभा प्रष्फुटन गर्नमा व्यस्त हुनुहुन्छ भने प्रिन्सले आफ्नै घरमा ‘सारंगी स्टुडियो’ संचालन गर्दै आउनु भएको छ ।

यस्तै, श्याम नेपालीका कान्छो छोरा प्रिजोल नेपाली, हाल सांगितिक क्षेत्रमा चम्किलो ध्रुवताराको रुपमा सुस्तरी बामे सर्दै आइरहनु भएको छ । नेपाली संगीतप्रेमी आजका युवापुस्ता सामु प्रिजोल नेपालीको बखान छाड्नु नपर्ला । उही नेपाली संगीत जगतका नक्षत्र प्रिजोल नेपालीको सांगितिक कन्सर्ट आउँदो कार्तिक १० गते हुँदैछ कीर्तिपुरको ऐतिहासिक क्षेत्र लायकू दरबार परिसरमा । “प्रिजोल नेपाली र सरर” नाम दिइएको उक्त कन्सर्ट कार्यक्रम कार्तिक १० गते शनिबार साँझ ५ देखि ८ बजेसम्म कीर्तिपुर नगरपालिका १ वडा लायकू टोलमा आयोजना हुँदैछ ।
अवश्य पनि गीत संगीतका पारखीहरु कार्तिक १० गते कीर्तिपुरको ऐतिहासिक क्षेत्र यानिकि कीर्तिपुरको इतिहासमा शाहवंशभन्दा पहिले मल्ल कालीन युगको दरबार स्क्वायर लायकू टोलमा आशा छ पाल्नु हुने नै छ । “प्रिजोल नेपाली र सरर”मा झुम्दै रमाउँदै प्रिजोल नेपालीलाई प्रोत्साहन एवं हौसला दिनु हुनेछ, अवश्य पनि ।
Categorized in साहित्य-कला

