STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कार्यान्वयनमा उतार्न सुझाव

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १९, आइतबार

आर्थिक वर्ष २०७६÷७७ राजश्व र व्ययको बजेट आर्थिक समृद्धि हासिल गर्न आएको हुँदा यसलाई कार्यान्वयनमा उतार्न सरकारलाई सुझाव दिइएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले गत जेठ १५ गते सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको बजेटमाथि टिप्पणी गर्दै सत्तारुढ सांसदले बजेटले ज्येष्ठ नागरिक भत्ता वृद्धि, पूर्वाधार विकास, सामाजिक क्षेत्रमा बजेट वृद्धि सकारात्मक भएको बताउनुभयो । 
 
प्रमुख प्रतिपक्षी दलले बजेट कार्यान्वयन हुन नसक्ने, वितरणमुखी आर्थिक समृद्धि हुन नसक्ने, सबैलाई खुशी पार्न आएको र आर्थिक सामाजिक रुपान्तरण गर्न नसक्ने टिप्पणी गर्नुभयो । प्रतिनिधिसभाको आजको बैठक आव २०७६÷७७ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा भाग लिँदै सत्तापक्ष र प्रतिपक्ष दलका सांसदले आआफ्नो भनाइ राख्नुभएको हो । 
 
बैठकको शुरुमा अर्थमन्त्री खतिवडाले यसअघि चालू आवमा सात प्रतिशत वृद्धि गर्ने लक्ष्य लिए पनि त्योभन्दा बढी हासिल गर्न सकिने बताउनुभयो । उहाँले लक्षित आर्थिक वृद्धिभन्दा बढी उपलब्धि हासिल गर्नेगरी पूर्वाधार विकासमा लगानी गर्ने गरी बजेट ल्याइएको र त्यसले ऊर्जा, कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।
अर्थमन्त्री डा खतिवडाले उत्पादन बढाएर आर्थिक वृद्धिका साथै रोजगारी सिर्जना गर्ने गरी बजेटले प्राथमिकताका क्षेत्र निर्धारण गरेको भन्दै उहाँले बजेट तथा कार्यक्रमलाई प्रभावकारी बनाउन आन्तरिक स्रोत र बाह्य स्रोत दुवै परिचालन गरिने उल्लेख गर्नुभयो ।
नेकपाका सांसद योगेश भट्टराईले बजेटले आर्थिक सामाजिक रुपान्तरण गर्न नयाँ ढङ्गले परिभाषित गरेको, सामाजिक सुरक्षा, उत्पादन वृद्धि, पूर्वाधार विकास आदिलाई प्राथमिकता दिएको हुँदा यसकोे प्रभावकारी कार्यान्वयनमा उतार्नुपर्छ भन्नुभयो । सहकारी प्रवद्र्धन, उत्पीडित र पिछडिएका समुदायको उत्थानलाई समेटेको बजेटले निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकता दिएको, पूँजीगत खर्च हुन नसक्दा आइपर्ने समस्या समस्यालाई सम्बोधन गर्ने बजेट आएको उहाँले बताउनुभयो ।  
नेपाली काङ्ग्रेसका सांसद डा मीनेन्द्र रिजालले बजेट अति महत्वाकाङ्क्षी लक्ष्य लिएको हुँदा कार्यान्वयन हुन नसक्ने, बजेट वितरणमुखी रहेको र सातवटै प्रदेशमा पूँजीगत खर्च बढाउने संयन्त्र बनाउनुपर्छ भन्नुभयो । उहाँले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा विनियोजित बजेट खर्च नहुनु दुःखद् पक्ष रहेको, ऋणको भार दिनप्रतिदिन बढिरहेको, बजेटले वैदेशिक लगानीलाई आकर्षित गर्न नसक्ने बताउनुभयो । 
राष्ट्रिय जनता पार्टीका सांसद महन्थ ठाकुरले तराई–मधेशमा रहेका पोखरी सुक्ने अवस्थामा रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै पोखरी संरक्षण गरी सिँचाइको उपयोगमा ल्याउन माग गर्नुभयो । सङ्घीय समाजवादी फोरमका सांसद प्रदीप यादवले बजेटले प्रदेश नं २ लाई विभेद गरेको, बजेटमा कार्यक्रम पहुँचका भरमा आएका भन्दै बहुचर्चित निजगढ विमानस्थल समयमै सम्पन्न गर्न ध्यान नदिएको वताउनुभयो । 
नेकपाका सांसद हृदयेश त्रिपाठीले साधारण खर्चभन्दा विकास गर्न बढी गर्न बजेटले प्राथमिकता दिनु सकारात्मक रहेको पक्ष रहेको, पूर्वाधार विकास, कृषि, पर्यटन, जलस्रोत विकासमा बजेटले जोड दिनु राम्रो रहेको उल्लेख गर्दै उठ्न नसकेको राजश्व उठान गर्न कार्यदल गठन गर्न सुझाव दिनुभयो । 
नेकपा सांसद सत्य पहाडीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उन्नयन तथा कर्णाली प्रदेश समृद्धिमा विशेष सम्बोधन गर्न माग गर्नुभयो । बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै नेपाली काङ्ग्रेसका डा डिला सङ्ग्रौलाले बजेटले सङ्घीयता कार्यान्वयन गर्न नसक्ने, अति महत्वकाङ्क्षी योजना बजेटमा आएको बताउनुभयो । प्रतिनिधिसभाको बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले बोल्नेक्रम जारी छ ।
Categorized in राष्ट्रिय